जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार १८:०६

बागमतीमा नेकपा, एमाले र राप्रपाबीच सत्ता सहकार्य गर्ने सहमति


हेटौँडा, भदौ ९। बागमती प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच नयाँ सरकार गठन तथा सञ्चालनका लागि सहमति भएको छ।

संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणको साझा उद्देश्य प्राप्तिका लागि तीन दलबीच समझदारी भएको हो।

समझदारीपत्र अनुसार सरकार गठन गर्दा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा हाल कायम रहेका ८ मन्त्रालयको संख्या नबढाई सरकार सञ्चालन गरिनेछ। प्रदेशसभाको रिक्त सभामुख पद नेकपाबाट निर्वाचित गर्ने सहमति पनि भएको छ।

त्यस्तै, प्रदेश सरकार सञ्चालनसम्बन्धी न्यूनतम साझा कार्यक्रम तयार गर्न सात सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ। समितिमा नेकपाबाट र एमाले तथा राप्रपाबाट दुई–दुई जना सदस्य रहनेछन्। समितिले सात दिनभित्र सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम तयार गरी सार्वजनिक गर्ने सहमति छ।

समझदारीअनुसार सरकार सञ्चालनका विषयमा आवश्यक सल्लाह, सुझाव र समन्वयका लागि छुट्टै संयन्त्र गठन गरिने उल्लेख छ। सुरुमा त्यसकाे नेतृत्व नेकपाले गर्ने छ । 

तीन दलले मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाउने सहमति गरेका छन्। साथै, मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्री पछि बरियादामा नेकपाको तर्फबाट एक जना र तेस्रोमा राप्रपाको तर्फबाट एक जना मन्त्री रहने व्यवस्था गर्ने समझदारी भएको छ।

समझदारीपत्रमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेशसभा दलका नेता सालिकराम जम्कट्टेल, राप्रपाका दल नेता उद्धव थापा र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले हस्ताक्षर गर्नु भएकाे छ । 

यस सहमतिसँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ र आजै मुख्यमन्त्रीले विश्वासकाे मत लिनुहुने छ ।