जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार १८:३८

नयाँ गठबन्धनले एक वर्षमा ऐतिहासिक रेकर्ड कायम गर्ने गरी काम गर्नुपर्छ :  जगन्नाथ थपलिया


हेटौँडा, भदौ ९। नेकपा एमाले बागमती प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेशमा बनेको संयुक्त सरकारले विगतका कमजोरीबाट पाठ सिक्दै एक वर्षभित्र नयाँ काम गरेर इतिहासमा रेकर्ड कायम गर्नुपर्ने बताउनु भएकाे छ । 

प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै सरकारको जिम्मेवारी थपिएको उल्लेख गर्दै उहाँले जनताका पक्षमा परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभयाे। संघीय सरकार आफ्नै ढंगले अघि बढिरहेको अवस्थामा प्रदेश सरकारले केन्द्रको कामलाई मात्र हेरेर बस्ने अवस्था नरहेको उहाँको भनाइ छ।

थपलियाले संघीय सरकार फरक ढंगले अघि बढिरहेको परिस्थितिमा प्रदेश सरकारको काँधमा थप गम्भीर जिम्मेवारी आएको बताउनुभयाे। प्रदेश सरकारले आफ्नो भूमिका प्रभावकारी बनाउँदै जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयाे। “यो संयुक्त सरकारले विगतबाट पाठ सिक्दै एक वर्षमा नयाँ काम गर्नुपर्छ,” उहाँले भन्नुभयाे, “यो अवसरलाई थप नयाँ ऊर्जाका साथ इतिहासमा रेकर्ड कायम गर्ने गरी काम गर्नुपर्छ।”

उहाँले मुख्यमन्त्रीले सरकारमा सहभागी सबै मन्त्री तथा सत्ता साझेदार दलहरूबीच प्रभावकारी समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयाे। तीन दलबीच भएको साझा सहमतिका आधारमा सरकार सञ्चालन हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयाे । 

थपलियाले जनतासँग प्रत्यक्ष जोडिएका काममा कुनै पनि ढिलाइ हुन नहुने बताउनुभयाे। सरकारले गरेका कामप्रति प्रश्न उठ्ने अवस्था आउन नदिन पारदर्शी, जिम्मेवार र प्रभावकारी ढंगले काम गर्नुपर्ने उहाँको भनाइ छ। “जनताका काममा कतै पनि ढिलाइ हुन दिनु हुँदैन। सरकारले कुनै गल्ती गर्‍यो भन्ने ठाउँ नहुने गरी काम गर्नुपर्छ,” उहाँले भन्नुभयाे ।