जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार १८:५१

कांग्रेसको प्रदेशसभा बैठकमा अनुपस्थित हुनु दुर्भाग्यपूर्ण : सालिकराम जम्कट्टेल


हेटौँडा, भदौ ९। नेकपा बागमती प्रदेशसभा संसदीय दलका नेता सालिकराम जम्कट्टेलले आफूलाई लोकतान्त्रिक भन्ने नेपाली कांग्रेस मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनुपस्थित हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभएकाे छ । 

मंगलबार मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै जम्कट्टेलले लोकतन्त्र नारामा नभई व्यवहारमा देखिनुपर्ने बताउनुभयाे। बागमती प्रदेशमा कांग्रेसबाट त्यस्तो व्यवहार नदेखिएको उहाँको भनाइ छ।

उहाँले नयाँ बनेको सरकारसामु धेरै चुनौती रहेको उल्लेख गर्दै विगतको भन्दा तीव्र गतिमा काम गर्दै सरकारले नयाँपन दिन सक्नुपर्ने बताउनुभयाे । “चुनौती धेरै छन्, तर काम गर्नुपर्ने छ। यो सरकार कुरा गर्ने होइन, काम गर्ने सरकार बन्नुपर्छ,” उहाँले भन्नुभयाे।

जम्कट्टेलले केन्द्रमा सरकारको दादागिरी चलेको आरोप लगाउँदै त्यसविरुद्ध नेकपा र नेकपा एमाले एक ठाउँमा उभिएर कार्यगत एकताका साथ अघि बढेको बताउनुभयाे। त्यसैको परिणामस्वरूप बागमती प्रदेशमा संयुक्त सरकार गठन भएको उहाँको भनाइ छ। “केन्द्रमा सरकारको दादागिरी चलेको छ। त्यसका विरुद्ध नेकपा र नेकपा एमाले एक ठाउँमा उभिएर कार्यगत एकता गरेर अघि बढेका छौँ। त्यसैको परिणाम बागमतीमा संयुक्त सरकार बनेको हो,” उहाँले भन्नुभयाे।