हेटौँडा, भदौ ९। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ। मङ्गलवार प्रदेशसभा बैठकमा उहाँले माग्नुभएको विश्वासको मतको पक्षमा ५७ मत परेको हो।
बैठकमा उपस्थित ५८ प्रदेशसभा सदस्यमध्ये एक जना मतदानमा सहभागी नभएको जनाइएको छ। विश्वासको मतको विपक्षमा र तटस्थ रहेकाे पक्षमा भने कुनै मत परेन। नेपाली कांग्रेस लगायत विपक्षीले बैठकमा अनुपस्थिति जनाएका थिए ।
बागमती प्रदेशसभामा हाल १०४ सदस्य कायम छन्। ती मध्ये ५८ जना सदस्यले मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका कारण उहाँले विश्वासकाे मत पाउनु भएकाे हाे ।
मुख्यमन्त्री थापालाई नेकपा एमाले, नेकपाका सबै प्रदेशसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सात जना सदस्यले विश्वासको मत दिनुभएकाे छ ।
बागमती प्रदेशसभामा नेकपा एमालेका उपसभामुखबाहेक २४, नेकपाका २६, राप्रपाका १२, नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन्। उपसभामुखले बैठककाे अध्यक्षता गर्नु भएकाेले मतदान गर्न पाउनुभएन ।
नेपाली कांग्रेसले भने सरकार गठनको प्रक्रिया सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन नहुने भन्दै प्रदेशसभा बैठक बहिष्कार गरेको हो।














प्रतिक्रिया दिनुहोस्