हेटौँडा, भदौ ९। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले राप्रपा सत्ताको खेलमा नरहे पनि परिस्थितिले प्रदेश सरकार सञ्चालन गर्ने ठाउँमा पुर्याएको बताउनुभएको छ।
मंगलबार बसेको बागमती प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता थापाले राप्रपाले प्रदेशमा ठूला दलले नै सरकार सञ्चालन गरुन् भन्ने चाहेको भए पनि त्यस्तो अवस्था नबनेपछि राजनीतिक रिक्तता अन्त्य गर्न सरकारमा जाने निर्णय गरेको स्पष्ट पार्नुभयो। सरकारले यसअघि ल्याइसकेको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दै नागरिकलाई विकासको अनुभूति दिलाउने दायित्व पूरा गर्न राप्रपाले आफ्ना प्रदेशसभा सदस्यलाई सरकारमा पठाउने निर्णय गरेको उहाँले बताउनुभयो।
जनताले कुनै एक दललाई स्पष्ट बहुमत नदिएका कारण अहिलेको राजनीतिक परिस्थिति सिर्जना भएको उहाँको भनाइ थियो। ‘जिम्मेवार राजनीतिक दलको हैसियतले निकास दिन हामी सरकारमा जानुपरेको हो,’ उहाँले भन्नुभयो, ‘एक महिना अल्पमतको सरकारले कुनै पनि काम गर्न नसक्ने अवस्थामा चल्यो।’
स्थानीय तहको निर्वाचनसमेत भएकाले निर्वाचन आचारसंहिताका कारण विकास निर्माण प्रभावित हुन सक्ने अवस्था रहेको उल्लेख गर्दै थापाले विनियोजित बजेट कार्यान्वयन र विकासका कामलाई गति दिन राप्रपा सरकारमा जान बाध्य भएको बताउनुभयो।
आफूलाई पार्टीले कारबाही गरेको विषय अदालतमा पुगेको उल्लेख गर्दै उहाँले विगतमा समेत सरकारमा आउन आग्रह गरिँदा आफूहरू नगएको स्पष्ट पार्नुभयो। अहिले पनि सरकारमा जाने इच्छा नरहेको दाबी गर्दै उहाँले प्रदेश अनिर्णयको बन्दी बनेपछि निकासका लागि राप्रपा सरकारमा सहभागी भएको बताउनुभयो।
पार्टीभित्रको विवाद आन्तरिक विषय भएकाले पार्टीमै छलफल गरेर समाधान गरिने उहाँको भनाइ थियो।
नेता थापाले आफू पदको लोभी नभएको र आफ्नो राजनीतिक जीवनमा कसैको एक पैसा पनि बेइमानी नगरेको दाबी गर्नुभयो। भ्रष्टाचारको आरोप लगाउनेहरूलाई प्रमाणित गरेर देखाउन चुनौती दिँदै उहाँले इमानदार भएकै कारण आफूले प्रदेशसभाको रोस्ट्रममा ठाडो शिरका साथ बोल्न सक्ने बताउनुभयो।
आफूले आफ्नै हस्ताक्षरबाट मन्त्री पदका लागि सदस्यहरूलाई सिफारिस गरे पनि स्वयं सरकारमा नगएर पदको लोभ नगरेको प्रमाणित गरेको उहाँले बताउनुभयो। नवनियुक्त मन्त्रीहरूलाई पद र शक्ति स्थायी नहुने भएकाले पदमा रहँदा आत्मसाक्षी राखेर जनताको पक्षमा काम गर्न उहाँले आग्रह गर्नुभयो। ‘जति दिन सरकारमा रहनुहुन्छ, इमानदार भएर बागमती प्रदेशका जनताको सेवा गर्नुस्, गलत काम नगर्नुस्,’ उहाँले मन्त्रीहरूलाई सुझाव दिनुभयो।
‘मौका पाउनुभएको छ, काम गर्नुभयो भनेर देखाउनुस्,’ भन्दै थापाले मन्त्रीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नुभयो।
संविधानका केही अन्तर्वस्तुमा राप्रपाको विमति रहे पनि देशको निकास र विकासका लागि पार्टी सधैँ जिम्मेवार भएर उभिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। राप्रपा आफ्ना अडानमा अडिग रहेको उल्लेख गर्दै उहाँले अहिलेको सरकारमा सहभागिताको निर्णय पनि पार्टी हितविपरीत नभएको दाबी गर्नुभयो।
थापाले प्रदेशसभा बैठकमा कांग्रेसको अनुपस्थितिको समेत आलोचना गर्नुभयो। ‘म भएँ भने सबै ठीक, अरू हुँदा बेठिक भन्नु हुँदैन,’ उहाँले भन्नुभयो।














प्रतिक्रिया दिनुहोस्