काठमाडौं, भदौ १०। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारलाई विश्वासको मत दिने पार्टीको निर्णय विपरीत मतदान गर्ने वा बैठकमा अनुपस्थित हुने सांसदलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ।
उहाँले पार्टीको निर्णयअनुसार विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको उल्लेख गर्दै ह्विप उल्लङ्घन गर्ने सांसदविरुद्ध कारबाही प्रक्रिया अघि बढाइने बताउनुभएको हो। मंगलबार मुख्यमन्त्री किरण थापाले प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रममा राप्रपाका १२ जना प्रदेश सभा सदस्य मध्ये ७ जनाले मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुभएको थियो भने ५ जना अनुपस्थित हुनुभएको थियो ।
उता राप्रपा केन्द्रले भने केन्द्रको नीति विपरीत सरकारलाई समर्थन गरेको भन्दै दलका नेता थापा र सरकारमा सहभागी ३ जना मन्त्रीलाई कारबाही गरेको छ । अब सरकारको पक्षमा मतदान गर्न बहुमत सदस्यलाई के गर्छ भन्ने चासोको विषय बनेको छ ।
नेता थापाका अनुसार राप्रपा सरकारमा जान चाहेर नभई प्रदेशमा उत्पन्न राजनीतिक सङ्कट समाधान गर्न बाध्य भएर जिम्मेवारी निर्वाह गर्ने अवस्थामा पुगेको हो। उहाँले जनताप्रति र जिम्मेवार राजनीतिक दलका रूपमा प्रस्तुत हुनुपर्ने भएकाले पार्टीभित्र छलफल गरेर बहुमत सदस्यको निर्णयअनुसार सरकारलाई साथ दिने निर्णय गरिएको स्पष्ट पार्नुभएको छ। उहाँले भन्नुभयो, ‘हामीले सरकारमा जान चाहेर होइन, हामीले साथ नदिए सङ्कट आउने भएकाले बाध्य भएका हौँ। जिम्मेवार पार्टीका रूपमा यो भूमिका निर्वाह गर्नुपर्छ भनेर पार्टीमा कुरा उठायौँ। केही नेताहरू तयार हुनुभयो, केही नेताहरू तयार हुनुभएन। बहुमत सदस्यले उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने बेला आएको निष्कर्ष निकालेपछि निर्णय गरेका हौँ।’
नेता थापाले राप्रपाले सरकारलाई साथ नदिएको भए अल्पमतको सरकार बन्ने र प्रदेश थप राजनीतिक सङ्कटमा फस्ने अवस्था आउन सक्ने दाबी गर्नुभयो। उहाँले एउटै दललाई स्पष्ट बहुमत प्राप्त नहुँदा प्रदेशमा राजनीतिक समस्या उत्पन्न भएको उल्लेख गर्दै जिम्मेवार भएर निर्णय लिनुपर्ने अवस्था आएको बताउनुभयो।
संसदीय दलले प्रमुख सचेतक परिवर्तन गरी नयाँ प्रमुख सचेतकमार्फत विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरी गरेको अवस्थामा संसदीय दलको ह्विप नमान्ने सांसदहरू कारबाहीमा पर्ने उहाँले स्पष्ट पार्नुभयो । पार्टीको निर्णयअनुसार मतदान नगर्ने वा मतदानका दिन अनुपस्थित हुने सांसदलाई ह्विप उल्लङ्घन गरेको ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो।














प्रतिक्रिया दिनुहोस्