जनता टाइम्स

१० भाद्र २०८३, बुधबार ०७:५५

इरानमाथि अमेरिकी प्रतिबन्धप्रति चीनको आपत्ति, ‘आवश्यक कदम’ चाल्ने चेतावनी


काठमाडौं, भदौ १० । अमेरिकाले इरान र उसका प्रमुख व्यापारिक साझेदारमाथि आर्थिक प्रतिबन्ध थप कडा गर्ने घोषणा गरेपछि चीनले आफ्ना राष्ट्रिय हित र अधिकारको रक्षा गर्न ‘सबै आवश्यक कदम’ चाल्ने चेतावनी दिएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानलाई आर्थिक रूपमा अलग्याउने उद्देश्यले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ नामक नयाँ प्रतिबन्ध घोषणा गर्नुभएको थियो। त्यसपछि बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी कदमको कडा विरोध गर्नुभएको हो।

प्रवक्ता लिनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को स्वीकृतिबिना र अन्तर्राष्ट्रिय कानुनविपरीत लगाइने एकपक्षीय प्रतिबन्ध गैरकानुनी हुने बताउनुभएको छ। चीन र इरानबीचको व्यापारिक सहकार्य अन्तर्राष्ट्रिय कानुनको ढाँचाभित्र रहेको दाबी गर्दै उहाँले यस्तो सहकार्यमा कुनै पनि पक्षले हस्तक्षेप वा अवरोध गर्न नहुने चीनको धारणा स्पष्ट पार्नुभएको छ।

लिनले आर्थिक युद्ध र अत्यधिक दबाबको नीतिले समस्याको समाधान नगर्ने बरु विश्वव्यापी आर्थिक तथा वित्तीय व्यवस्थामा थप अस्थिरता ल्याउने र अन्तर्राष्ट्रिय तनाव बढाउने चेतावनी दिनुभएको छ।

अमेरिकाले इरानबाट इन्धन खरिद गर्ने वा इरानसँग वित्तीय कारोबार गर्ने जुनसुकै देश वा संस्थालाई अमेरिकी वित्तीय प्रणालीबाट अलग्याउने चेतावनी दिएको छ। इरानी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीन भएकाले नयाँ अमेरिकी प्रतिबन्धले दुई देशबीचको आर्थिक तथा कूटनीतिक तनाव थप बढ्न सक्ने देखिएको छ।

इरानका अर्थमन्त्री अली मदानीजादेले पनि अमेरिकी प्रतिबन्धको सामना गर्न इरान तयार रहेको र सरकारले दुई वर्षका लागि रणनीति तयार गरेको दाबी गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी महिना हुने तय भएको शिखर वार्ताअघि अमेरिकाले प्रतिबन्ध घोषणा गरेको हो।

विश्लेषकहरूका अनुसार अमेरिकाले प्रतिबन्ध थप कडा बनाउँदै गएमा चीनले दुर्लभ खनिजको निर्यातमा कडाइ गरेर जवाफी कदम चाल्न सक्ने जोखिम छ।