जनता टाइम्स

९ पुष २०७६, बुधबार १५:५४

बूढानीलकण्ठमा तामाङ संग्रहालय बन्ने


बुढानीलकण्ठ, पुस ९

बूढानीलकण्ठ नगरपालिका वडा नं ३ र ५ को सिमानामा रहेको आइतबारे उद्यान परिसरमा तामाङ संग्रहालय बन्ने भएको छ । नगरपालिकाको उच्च भागमा रहेको करीब तीन सय रोपनी क्षेत्रफलमा बन्ने नगर प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिनुभयो । “उक्त सङ्ग्रहालय नगरकै मुख्य आकर्षणका रुपमा रहने छ”, प्रमुख खरेलले भन्नुभयो ।

बीस करोड लगानी रहने संग्रहालयमा तामाङ संस्कृति, रहनसहन र समुदायको जन्मेदेखि मृत्युसम्मका संस्कार झल्किने विषय रहने छन् । संग्रहालयमा नेपालबाट लोप भइसकेका वा हुन लागेका झोलुङ्गे पुल, पानीघट्ट, माछापोखरीलगायतका प्रतिकृति पनि राखिने बताइएको छ ।

प्रदेश नं ३ मा तामाङ समुदायको बाहुल्य छ । प्रदेशसभा सदस्य दीपक निरौलाले अबको दुई वर्षमा संग्रहालय निर्माण हुने बताउनुभयो । “तामाङ सभ्यतासँग जोडिएको संग्रहालय निर्माण भएपछि पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणमा समेत ठूलो योगदान पुग्ने छ”, उहाँले भन्नुभयो ।