जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार १४:०६

बाढीपीडितको उद्धारदेखि खानासम्मको जिम्मा वाग्मती प्रदेश सरकारले लियाे, मुख्यमन्त्री थापा आफैँ फिल्डमा


काठमाडौं, भदौ ११ । भोटेकोशीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर आफैँ प्रभावित क्षेत्रमा खटिनुभएको छ। उद्धार, राहत तथा तत्कालीन व्यवस्थापनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री थापा हिजैदेखि नै प्रभावित क्षेत्रमा स्थलगत रुपमा खटिनु भएकाे हाे।

मुख्यमन्त्री थापा आज नुवाकोट हुँदै रसुवातर्फ प्रस्थान गर्नुभएको छ। प्रदेश सरकारले प्रभावित क्षेत्रमा औषधिसहितको चिकित्सक टोली यसअघि हिजाे नै परिचालन गरिसकेको छ भने मुख्यमन्त्रीसहित विभागीय मन्त्री र प्रदेश सरकारका विभिन्न संयन्त्र प्रत्यक्ष रूपमा उद्धार तथा राहतमा खटिएका छन्।

धादिङको गल्छी हुँदै सडकको अवरोध हटाएर नुवाकोट पुग्नुभएका मुख्यमन्त्री थापाले स्थानीय बाढीपीडितसँग प्रत्यक्ष भेट गरी उनीहरूको समस्या र अवस्थाबारे जानकारी लिनुभएको थियो। सो क्रममा कतिपय नागरिकले आफूहरू अलपत्र परेको र खानासमेत नपाएको गुनासो गरेपछि प्रदेश सरकारले रसुवा र नुवाकोटमा अलपत्र परेका नागरिकलाई सुरक्षित रूपमा आफ्नो जिल्लासम्म पुर्‍याउने व्यवस्था सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो।

त्यसैगरी, प्रदेश सरकारले हालसम्म चार स्थानमा सेल्टर निर्माण गरेको र त्यहाँ आश्रय लिएका तथा समस्यामा परेका नागरिकका लागि प्रदेश सरकारको तर्फबाट खानाको व्यवस्था गरिएको मुख्यमन्त्री थापाले बताउनुभयो।

उहाँका अनुसार धादिङको गल्छीदेखि नुवाकोटसम्मको सडक सञ्चालनमा ल्याइएको छ। नुवाकोटबाट रसुवा जाने सडकमा रहेका अवरोधसमेत हटाउँदै उद्धार टोली अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो।

बाढीका कारण विद्युत् लाइनमा ठूलो क्षति पुगेपछि नुवाकोट र रसुवाका अस्पतालमा हेलिकप्टरमार्फत इन्धन पुर्‍याएर जेनेरेटरबाट स्वास्थ्य सेवा सञ्चालन गरिएको मुख्यमन्त्री थापाले बताउनुभयो। टेलिफोन टावरमा समेत जेनेरेटर राखेर सञ्चार सेवा सञ्चालनमा ल्याउने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको उहाँको भनाइ छ।

Screenshot

मुख्यमन्त्री थापाले आफू स्वयं, विभागीय मन्त्रीहरू तथा सम्पूर्ण प्रदेश संयन्त्र प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा परिचालित रहेको बताउँदै उद्धार, खोजी, राहत र तत्कालीन व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रसुवामा आफन्त अलपत्र परेका वा सम्पर्कविहीन भएका नागरिकलाई आवश्यक सूचना उपलब्ध गराउन सम्बन्धित प्रदेश संयन्त्रसँग तत्काल सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ। त्यसका लागि मुख्यमन्त्री थापाले आफ्नो मोबाइल नम्बर ९८५१०८१८७६ समेत सार्वजनिक गर्नुभएको छ।

मुख्यमन्त्री थापाले बाढीपीडित नागरिकलाई आफूहरू एक्लो नभएको अनुभूति दिलाउँदै सरकार संकटको अन्तिम क्षणसम्म जनताको साथमा रहने बताउनुभयो। “पीडितको पीडा हाम्रो पनि पीडा हो,” भन्दै उहाँले पीडितका आँसुमा सरकारको संवेदना रहेको र सुरक्षाका लागि राज्यका सबै संयन्त्र निरन्तर परिचालित रहेको बताउनुभयो।

उहाँले सरकार आश्वासन दिन मात्र नभई उद्धारदेखि पुनःस्थापनासम्म जनताको साथमा उभिन प्रभावित क्षेत्रमा आएको स्पष्ट पार्नुभयो। सम्भावित जोखिममा रहेका सबै नागरिकको सुरक्षित उद्धारका लागि निरन्तर प्रयास भइरहेको बताउँदै अलपत्र परेका नागरिकलाई आफू बसेको स्थानमा धुवाँ उड्ने गरी आगो बालेर उद्धार टोलीलाई सङ्केत दिन समेत मुख्यमन्त्री थापाले आग्रह गर्नुभएको छ।