जनता टाइम्स

९ पुष २०७६, बुधबार १७:०५

मध्यपुर थिमी नगरको तीन सय वर्ष पुरानो ऐतिहासिक ‘निगु पुखुः’ पुर्नर्निर्माण सुरु


रमेश गिरी/भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले सम्पदाको संरक्षणलाई अघि बढाएको छ । प्रसिद्ध एवं ऐतिहासिक ३ सय वर्ष पुरानो निगु पुखुः अर्थात दुई पोखरीमध्ये एउटा पोखरी संरक्षण तथा पुनर्निर्माण सम्पन्न गरी पानी भरेको मध्यपुर थिमि नगरपालिकाले संगैको अर्को ठूलो पोखरी पनि संरक्षण गर्न सुरु गरेको हो ।

संरक्षण अभावमा पानी सुकेर वर्षौंदेखि चौरमा परिणत मध्यपुर थिमि–४ को ऐतिहासिक निगु पुखुः अर्थात दुई पोखरी संरक्षण एवं पुनर्निर्माणका लागि उपभोक्ता समिति गठन गरी नगरपालिकाले गतवर्षदेखि काम सुरु गरेको थियो । एउटा पोखरी गत चैतमा निर्माण सम्पन्न गरी बिस्केट जात्राका लागि पानी भरेको थियो भने अर्को पोखरी आगामी बैशाख १ गतेको बिस्केट जात्राका लागि पानी भर्ने गरि संरक्षण तथा पुनर्निर्माण सुरु गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

पानी नसुकोस भनेर पोखरी निर्माणको क्रममा पिधँमा कालोमाटो ६ ईन्च, त्यसमाथि ३ ईन्च पाँगो माटो र त्यसमाथि फेरी ६ ईन्च कालोमाटो राखेर त्यसमाथि इँटा ओछ्याएर परम्परागत शैलीमा डाँची अप्पा, मा अप्पा इँटाको प्रयोग गरि पोखरी पुर्नर्निर्माण गरिएको छ भने अब पुर्नर्निर्माण हुने पोखरीमा पनि यही बिधि अपनाईनेछ । निगु पुखुः संरक्षणका लागि नगरपालिकाले गतआर्थिक वर्ष ०७५÷०७६ मा ६० लाख रुपैयाँ खर्च गरेको थियो भने उत्तरतर्फको ठूलो पोखरीको संरक्षण एवं पुर्ननिर्माणका लागि चालू आ.ब. ०७६÷०७७ मा नगरपालिकाले १ करोड २५ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

दक्षिणतर्फको पोखरी भन्दा दुई गुणा ठूलो रहेको उत्तरतर्फको पोखरी संरक्षण एवं जिर्णोद्धारका लागि ३ नं. प्रदेश सरकारले थप ४५ लाख रुपैया बजेट विनियोजन गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । दक्षिण तर्फको पोखरी ५ फिट गहिरो छ भने उत्तरतर्फको पोखरी ७ फिट गहिरो बनाईने छ । ठूलो पोखरीमा पुर्ननिर्माण सम्पन्न गरेर पानी भरेपछि ढुङ्गा चलाउने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास गरिने भएको छ । आकाशे पानीलाई प्रशोधन गरी दुई पोखरीमा पानी भर्ने योजना छ । पोखरीमा मध्यपुर थिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने गरि योजना बनाएको छ ।

तीन वर्षमा पोखरीको सम्पूर्ण संरक्षणका काम सम्पन्न गर्ने गरि नगरपालिकाले कूल रु. १५ करोडको लागत सहितको गुरुयोजना निर्माण गरेको थियो । जसमा दुईवटै पोखरीको वरिपरी पैदलमार्ग निर्माण, आठ वटा परम्परागत शैलीको फल्चा अर्थात पाटी, दुईवटा पोखरीको बिचको बाटो पुर्ननिर्माण गर्नुका साथै नगरको मुख्य साँस्कृतिक केन्द्रका रूपमा यो क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य रहेको नगरप्रमुख श्रेष्ठको भनाई छ । करिब ३ सय वर्ष पहिले गंगा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुर थिमिवासीलाई पानीको स्रोत दिएको कथन छ । थिमिमा कुनै भवितव्य भएमा, सिँचाइ र अन्य प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने प्रचलन थियो ।

बढ्दो सहरीकरण तथा पानीका वैकल्पिक स्रोत प्रयोग हुन थाली पोखरी संरक्षणमा ध्यान जान छाडेपछि संरक्षणको अभावमा पोखरी चौरमा परिणत भएको स्थानीय बताउँछन् । दुईपोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र सहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीच बाटोमै टुटेपछि पोखरीमा पानी सुकेको स्थानीय बताउँछन् । २०१५ सालमा राजा महेन्द्र भक्तपुर आउँदा दुई पोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेपछि पोखरीको संरक्षण नहुँदा पानी सुकेको वडा नं. ४ का अध्यक्ष कुमार श्रेष्ठ बताउनुहुन्छ ।

‘गाविस हुँदासम्म पोखरीमा पानी थियो, नगरपालिका भएदेखि कसैको ध्यान गएन,’ श्रेष्ठले भन्नुभयो ‘पोखरी सुक्यो, पहिले सबै काम पोखरीकै पानीले गरिन्थ्यो, अहिले जनप्रतिनिधी आएपछि संरक्षण थाल्यौ, अब पुरानै अबस्थामा फर्किन्छ ।’ मध्यपुरवासीले दुई पोखरी सुधार समिति नै गठन गरी पटकरपटक संरक्षण प्रयास गर्दै आएको र ०६५ मा नगरपालिकाले १० लाखको लागतमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुन सकेको थिएन । अब भने निगु पुखुःले पुर्नजीवन पाउने भएको छ ।