जनता टाइम्स

१२ भाद्र २०८३, शुक्रबार १६:००

रहेनन ‘डरभन्दा स्वतन्त्रता बलियो हुन्छ’ भन्ने नर्वेका सुधारवादी राजा हेरल्ड : ८९ वर्षको उमेरमा निधन


ओस्लो, भदौ १२ । सुधारवादी महाराजको छवि बनाउनु भएका नर्वेका राजा हेरल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

अन्तराष्ट्रिय समाचार संस्था रोएटर्सले शुक्रवार हेरल्डको निधन भएको समाचार दिएको हो । रोयटर्सका अनुसार तीन दशकभन्दा बढी समय गद्दीमा रहेर आफ्ना लोकप्रिय र खुला स्वभावका बुबाको छाँयाबाट बाहिर निस्कँदै एक सुधारकको रूपमा पहिचान बनाउनु भएका नर्वेली राजाको निधन भएको हो ।

’राजा हेरल्डको शुक्रबार अगस्ट २८ स्थानीय समय अनुसार बिहान ०६ः३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भयो,’ राजदरबारले आफ्नो वेबसाइटमा भनेको छ ।

युरोपका सबैभन्दा वृद्ध जीवित राजा हेरल्डलाई अगस्ट १७ मा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा रहँदा उहाँको रगतमा बेक्टेरियल सङ्क्रमणको उपचार भइरहेको राजदरबारले जानकारी दिएको थियो ।

सन् २०२४ मा मलेसियामा बिदा मनाउने क्रममा सङ्क्रमण भएपछि उहाँलाई त्यहाँको अस्पतालमा भर्ना गरी अस्थायी पेसमेकर राखिएको थियो । त्यसपछि उहाँलाई नर्वेली सेनाको विमानमार्फत स्वदेश फर्काइएर स्थायी पेसमेकर राखिएको थियो।

सन् १९९१ देखि नर्वेका औपचारिक राष्ट्रप्रमुख रहँदै आउनु भएका हेरल्डले सोही वर्ष आफू सहभागी हुने औपचारिक कार्यक्रमहरूको सङ्ख्या घटाउने तर गद्दी भने नत्याग्ने घोषणा गर्नुभएको थियो । राजाको रूपमा आफूले लिएको शपथ जीवनभरका लागि भएको हेरल्डको भनाई थियो ।

ब्रिटेनकी महारानी भिक्टोरियाका पनाति हेरल्ड सन् १९९१ मा गद्दीमा आसिन हुनुभएको थियो । उहाँले बिस्तारै आधुनिक सुधारहरू भित्र्याउँदै मुख्यतया राष्ट्रिय स्वाधीनताको प्रतीकका रूपमा हेरिने औपचारिक पदलाई २१ औँ शताब्दी अनुकूल बनाउनु भएको थियो ।

सोही कामले लोकप्रिय बन्नुभएका राजा हेरल्डले शोकको समयमा देशलाई सान्त्वना दिन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको नर्वेली जनताको बुझाइ छ । सन् २०११ मा उग्र–दक्षिणपन्थी, इस्लाम विरोधी कट्टरपन्थी एन्डर्स बेहरिङ ब्रेभिकले ओस्लो र उतोया टापुमा ७७ जनाको हत्या गर्दा, राजा हेरल्डले टेलिभिजन मार्फत ओझस्वी सम्बोधन गर्दै देशवासीलाई सान्त्वना दिनुभएको थियो । भावुक हुँदै काँपेको स्वरमा उहाँले भन्नुभएको थियो, ‘डरभन्दा स्वतन्त्रता बलियो हुन्छ ।’

बाढी, आँधीबेहरी र अन्य विपद्पछि, उहाँ गमबुट र पुरानो ज्याकेट लगाएर घर वा आफ्ना प्रियजन गुमाएका मानिसहरूलाई भेट्न घटनास्थलमै पुग्ने गर्नुभएको थियो । यही छविले उहाँ जनतामाझ लोकप्रिय बन्नुभएको हो ।