काठमाडौं, भदौ १३ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका र त्रिशूली करिडोर क्षेत्रमा कन्टेनर ट्रक व्यवसायमा ठूलो क्षति पुगेको व्यवसायीहरूले बताएका छन् ।
बाढीमा परी ४ सयभन्दा बढी कन्टेनर ट्रक तथा त्यसमा कार्यरत चालक, सहचालक, मजदुर र व्यापारी गरी १ हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको यातायात व्यवसायीहरूले बताएका हुन् । तीमध्ये अधिकांश दसैं, तिहार र तीजका लागि आवश्यक सामान लिन रसुवा नाका पुगेका थिए ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा (साविक नेपाल ट्रक कन्टेनर व्यवसायी संघ) का अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार बाढीमा कन्टेनर ट्रक बगेपछि त्यसमा कार्यरत व्यक्तिहरूको अवस्थासमेत अज्ञात छ ।
उहाँका अनुसार संघमा ९६६ वटा कन्टेनर दर्ता छन् । बाढी आउनुअघि करिब १७५ वटा कन्टेनर सामान लिन केरुङतर्फ गएका थिए । तीमध्ये चालक, सहचालक र स्वरोजगार मजदुरसहित ४ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको उहाँले बताउनुभयो ।
सामान लिन गएका ठूला व्यापारी, भन्सार एजेन्ट र अन्य यात्रुसमेत जोड्दा सम्पर्कविहीन तथा प्रभावित हुनेको संख्या १ हजारभन्दा बढी पुग्ने उहाँको भनाइ छ ।
‘चालक मात्रै ४ सयभन्दा बढी हराएका छन् । सहचालक, व्यापारी र भन्सार एजेन्टहरू समेत जोड्दा यो संख्या धेरै माथि पुग्छ,’ उहाँले भन्नुभयो ।
बाढी प्रभावित क्षेत्रमा नारायणी, बल्खु, पोखरा–गण्डकीलगायत विभिन्न संघसंस्थाका कन्टेनरसमेत फसेकाले क्षतिको आकार अझ ठूलो हुनसक्ने व्यवसायीहरूले बताएका छन् ।
अध्यक्ष सापकोटाले भन्सार कार्यालय र बाटोमा रहेका चेकपोस्टको अव्यावहारिक नियम तथा ढिलासुस्तीका कारण समेत क्षति बढेको आरोप लगाउनुभएको छ ।
उहाँका अनुसार रसुवागढी भन्सारबाट प्रक्रिया पूरा गरेर निस्किएका कन्टेनरलाई समेत धुन्चेस्थित निकुञ्जको चेकपोस्टले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिने गरेको थियो । त्यसका कारण भन्सार प्रक्रिया पूरा गरेका ७० देखि ८० वटा कन्टेनरलाई राजमार्गको किनारमा तीन–चार दिनसम्म लाइनमा राख्न बाध्य पारिएको उहाँको आरोप छ ।
‘रसुवागढी भन्सारले गाडी पास गरेर पठाउँछ, तर धुन्चेस्थित निकुञ्जको चेकपोस्टले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै गाडी चल्न दिन्छ । भन्सार तिरेर निस्किएका ७०–८० वटा गाडीलाई हाइवे सडक किनारमा तीन–चार दिनसम्म लाइन लगाएर राख्न बाध्य पारियो,’ उहाँले भन्नुभयो, ‘त्यसरी बाटोमा असुरक्षित रूपमा पार्किङ गरेर राखिएका गाडीलाई नै पहिरो र बाढीले बगाएको हो ।’
समयमै कन्टेनरलाई गन्तव्यतर्फ जान दिइएको भए क्षति कम गर्न सकिने उहाँको दाबी छ ।
बेत्रावतीमा मात्रै ३०–४० कन्टेनर बगे
केरुङतर्फ गएका तथा चिनियाँ भूभागमा रहेका कन्टेनरको अवस्थाबारे अहिलेसम्म जानकारी हुन नसकेको व्यवसायीहरूले बताएका छन् ।
नुवाकोटको बेत्रावती क्षेत्रमा पार्किङ गरेर राखिएका करिब ११५ कन्टेनरमध्ये ३० देखि ४० वटा कन्टेनर ट्रक त्रिशूली नदीले बगाएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
‘बेत्रावतीमा हाम्रै साथीहरूले जोखिम मोलेर धेरै कन्टेनर भगाउन भ्याउनुभयो । तर, त्यहाँ पनि ३०–४० वटा गाडी बगेका छन्,’ उहाँले भन्नुभयो, ‘सचेत गराउँदा गराउँदै नमानेर बसेका केही पर्यटक बससमेत नदीमा खसेको देखियो ।’
व्यवसायीहरूले बाढीमा सम्पर्कविहीन भएका चालक, सहचालक तथा मजदुरको तत्काल खोजी र उद्धार गर्न सरकारसँग माग गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्