काठमाडौं, १३ भदौ । अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया सीए–११ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
सेमिफाइनल दौडबाट बाहिरिइसकेको नेपाल आजको खेल जित्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । नेपाल चार अंकसहित तालिकाको सातौँ स्थानमा रहेको छ ।
प्रतियोगितामा पाँच खेल खेलेको नेपालले दुई खेलमा जित र तीन खेलमा हार व्यहोरेको छ । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले तथा दोस्रो खेलमा बंगलादेश हाइपरफर्मेन्स–११ सँग नौ विकेटले पराजित भएको थियो ।
त्यसपछि नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले हराउँदै पहिलो जित निकालेको थियो । चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चार विकेटले पराजित गरेको नेपाल पाँचौँ खेलमा हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।
आज भिक्टोरिया सीए–११ लाई पराजित गर्दै नेपाल ‘ए’ प्रतियोगिताको अन्त्य जितका साथ गर्ने प्रयासमा हुनेछ ।














प्रतिक्रिया दिनुहोस्