नुवाकोट, भदौ १३ । रसुवाको बिनाशकारी भोटेकोशी बाढीको चार दिनपछि इपिसेन्टर मानिने टिमुरे–रसुवागढी क्षेत्रमा बल्ल सरकारको उपस्थिति देखिएको छ ।
सरकारले चार दिनपछि शनिबार हेलिकप्टरबाट राहतका स्वरुप चाउचाउ झारेर आफ्नो उपस्थिति जनाएको हो । चार दिनसम्म सरकार सो क्षेत्रमा पुग्न सकेको थिएन ।
गृह मन्त्रालयका एक अधिकारीले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार उद्धारको काममा निकै ढिलाइ देखिएपछि समन्वयका लागि माथिल्लो अधिकारी खटाएर चाउचाउ भए पनि खसालिएको हो ।
बाढीले पारेको रसुवाको भयावह स्थितलाई सामान्यीकरण गर्न सहसचिव बासुदेव घिमिरेको नेतृत्वमा टोलीसमेत खटाइएको छ । घिमिरेले मन्त्रालयको तर्फबाट जिल्ला प्रशासन कार्यालय र विभिन्न सुरक्षा निकायसँग समन्वय गर्ने स्रोतले जनाएको छ ।
बुधबारको बाढीले अत्यधिक क्षति भएका टिमुरे, स्याफ्रुबेँसी, बेत्रावतिलगायतका स्थानमा उद्घार नपुगेको गुनासोपछि मन्त्रालयले सहसचिव नेतृत्वको टोली खटाएको हो । त्यहाँ गृह मन्त्रालयबाटै खटिने उपसचिव दर्जाका सीडीओ छन् ।
त्यहाँ खटिएका सहसचिव घिमिरे सुनसरीको कप्तानगञ्ज घटनापछि मन्त्रालयमा सरुवा हुनुभएको थियो । उपसचिव हुँदा घिमिरे रसुवाको सीडीओको जिम्मेवारी सम्हाल्नुभएको थियो । सोही कारण भूगोल बुझेको आधारमा खटाइएको मन्त्रालय स्रोतले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्