काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
मुख्यमन्त्री थापाले प्राकृतिक विपत्तिका कारण अवरुद्ध भएका सडक तथा यातायात मार्गलाई सञ्चालनमा ल्याउन प्रदेश सरकारले वैकल्पिक मार्गहरूको पहिचान गरी तत्काल खुलाउने कार्यलाई तीव्रता दिएको जानकारी दिनुभयो। उहाँले विपद्का कारण उत्पन्न कठिनाइ समाधान गर्न सरकार सक्रिय रूपमा खटिएको उल्लेख गर्दै नागरिकको आवागमन सहज बनाउनेतर्फ विशेष ध्यान दिइएको बताउनुभयो। “बाटो अवरुद्ध भए विकल्प खोज्छौँ, कठिनाइ आए समाधानको बाटो खोल्छौँ,” मुख्यमन्त्री थापाले भन्नुभयाे ।
उहाँले बाढी प्रभावित क्षेत्रका नागरिकको सुरक्षा, सहज आवागमन, उद्धार तथा राहत व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकार निरन्तर फिल्डमै खटिरहेको बताउनुभयो। प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरेर काम भइरहेको उहाँको भनाइ छ।
रसुवालगायत बाढी प्रभावित क्षेत्रमा यातायात अवरुद्ध हुँदा अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म पुग्न सहज बनाउने उद्देश्यले प्रदेश सरकारले वैकल्पिक मार्ग सञ्चालन तथा आवश्यक व्यवस्थापनलाई तीव्रता दिएको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्