काठमाडौं, भदौ १३ । बाढीले क्षतविक्षत बनाएको रसुवाको उत्तरगया र धुन्चेमा बागमती प्रदेश सरकारले सडक मर्मत गर्दै स्थलमार्गबाटै राहत सामग्री पुर्याएको छ।
संघीय सरकारको उद्धार तथा राहत गतिविधि हेलिकप्टर र सामाजिक सञ्जालमा सीमित भएको टिप्पणी आइरहेका बेला बागमती प्रदेश सरकारले भने वैकल्पिक सडक निर्माण गरेर अत्यावश्यक खाद्यान्नसहितको राहत सामग्री रसुवा पुर्याएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरका अनुसार आज टिपर तथा ट्रक मार्फत सहयोगी व्यक्ति तथा संस्थाबाट प्राप्त राहत सामग्रीको पहिलो प्याकेज रसुवा पुर्याइएको छ। बाढीका कारण सडकका विभिन्न स्थानमा क्षति पुगे पनि बिग्रिएका ठाउँमा सडक मर्मत गर्दै उत्तरगयासम्म टिपर र निसान गाडी पुर्याइएको उहाँले जानकारी दिनुभयो। “बिग्रिएका ठाउँमा सडक मर्मत गर्दै उत्तरगयासम्म टिपर र निसान गाडीहरू पुर्याएका छौँ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो।
प्रदेशका विभिन्न संयन्त्र परिचालन गरेर आफू तीन दिनदेखि रसुवामै उद्धार तथा राहतको काममा खटिइरहेको उहाँले बताउनुभयो। प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन मुख्य चुनौती बनेको सडक अवरोध हटाउँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ।
वैकल्पिक मार्ग बनाएर तीनवट गाडी रसुवा पुगे

बागमती प्रदेश सरकारको पहलमा छहरे, चौघोडा, बाहुनबेंसी, लच्याङ, सरमथली, पारिखर्क, पाँच्याङ पुल, भोर्ले, ० किलो र बेत्रावती हुँदै पासाङल्हामु मार्ग जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।
यही वैकल्पिक मार्ग हुँदै अत्यावश्यक खाद्यान्नलगायत राहत सामग्री बोकेका तीनवटा गाडी आज रसुवा पुगेका हुन्। सडक अवरुद्ध भएका कारण प्रभावित क्षेत्रमा राहत पुर्याउन कठिनाइ भइरहेका बेला वैकल्पिक सडक सञ्चालन भएपछि राहत सामग्री ढुवानी सहज भएको मुख्यमन्त्री थापा मगरले बताउनुभयो।
राहत सामग्री नीलकण्ठ होल्डिङ सेन्टरसम्म पुर्याइएको छ।
के–के सामग्री पुगे ?
रसुवा पठाइएको राहत सामग्रीमा विभिन्न व्यक्ति तथा संस्थाले उपलब्ध गराएका खाद्यान्न तथा अत्यावश्यक सामग्री रहेका छन्।
सनफ्लावर तेल २० कार्टुन लक्ष्मण अवालले सहयोग गर्नुभएको छ। काठमाडौं फन भ्याली प्रालि र भेरिएबल सोलुसन्स प्रालिले जिरा मसिनो चामल २२/२२ बोरा उपलब्ध गराएका छन्।
त्यस्तै जीवन कावाङ र युवराज थापाले ५/५ बोरा, गौरव पाठकले ४ बोरा, राकेश श्रेष्ठले ३ बोरा तथा अट्टा ज्वेलर्सले २ बोरा जिरा मसिनो चामल सहयोग गरेका छन्।
हरि गोपाल शैँजुले १५० प्याकेट दाल, रामचन्द्र थापाले चार बोरा आलु, निशा दाहालले विविध खाद्यान्न, सुरेन्द्रराज खत्रीले ४० केस मिनरल वाटर तथा दिनेश बस्नेतले दुई बोरा आयोडिनयुक्त नुन उपलब्ध गराउनुभएको छ।
त्यसैगरी रामसुन्दर प्रजापतिले एक बोरा लुगा र सूर्य आर्ट्सले चार थान प्रिन्टिङ फ्लेक्स सहयोग गरेको विवरणमा उल्लेख छ।
राहत अभियानका लागि नगद सहयोगसमेत प्राप्त भएको छ। भक्तपुरका सहयोगीहरूबाट ३४ हजार रुपैयाँ सङ्कलन गरी पठाइएकाे छ ।
भक्तपुर इँटा तथा टायल कारखानाबाट ठूलो परिमाणमा खाद्यान्न

भक्तपुर इँटा तथा टायल कारखानाबाट पनि रसुवाका बाढी प्रभावित नागरिकका लागि उल्लेख्य राहत सामग्री प्राप्त भएको छ।
कारखानाबाट जिरा मसिनो चामल ८० बोरा, सनफ्लावर तेल १५ कार्टुन, ज्ञान चक्की आटा ५ बोरा, कालो दाल ५० केजी, रातो दाल ५० केजी, भिटामिन मिल्क बिस्कुट ७० प्याकेट, रियल जुस २५ कार्टुन, चिउरा १५ बोरा, दालमोठ ५ बोरा, बाई–बाई ४० कार्टुन र भुजिया १५ बोरा प्राप्त भएको छ।
यी सामग्री आजै रसुवाका बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा पुगेका हुन् । ती सामान आवश्यकताअनुसार वितरण गर्ने तयारी गरिएको छ।
राहत ढुवानीमा तीन सवारीसाधन
राहत सामग्री रसुवा पुर्याउन विभिन्न संस्थाले सवारीसाधनसमेत उपलब्ध गराएका थिए ।
आशापुरी ट्रेड एण्ड सप्लायर्स प्रालिले एउटा टिपर र एउटा निसान गाडी उपलब्ध गराएको थियो। त्यस्तै भक्तपुर इँटा तथा टायल उद्योगले पनि एउटा निसान गाडी उपलब्ध गराएको थियो।
यसरी राहत सामग्री ढुवानीका लागि एक टिपर र दुई निसान गरी तीनवटा सवारीसाधन परिचालन भएका छन्।
सडकसँगै राहत पुर्याउने अभियान

बाढीपछि रसुवासहितका पहाडी क्षेत्रमा सडक संरचनामा क्षति पुग्दा राहत तथा उद्धारमा समेत कठिनाइ उत्पन्न भएको अवस्थामा बागमती प्रदेश सरकारले सडक सञ्चालनलाई राहत अभियानसँगै अघि बढाएको जनाएको छ।
मुख्यमन्त्री थापा मगरले प्रदेशका सबै संयन्त्रलाई परिचालन गरेर प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको बताउनुभएको छ। उहाँका अनुसार सडक क्षतिग्रस्त भएका स्थानमा तत्काल मर्मत गर्दै वैकल्पिक मार्ग सञ्चालनमा ल्याएर राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउने प्रयास भइरहेको छ।
बाढीले सडक सम्पर्क विच्छेद भएका स्थानमा वैकल्पिक मार्ग खोल्दै अत्यावश्यक खाद्यान्न तथा अन्य राहत सामग्री स्थलमार्गबाटै पुर्याउन थालिएपछि प्रभावित नागरिकसम्म राहत पुर्याउने बाटो सहज भएको प्रदेश सरकारको भनाइ छ।
अलपत्र परेकालाई नि:शुल्क काठमाडौं पठाउँदै
प्रदेश सरकारले रसुवामा अलपत्र परेका पर्यटकलाई निःशुल्क रूपमा यातायात साधन मार्फत काठमाडौं पठाइरहेको छ । धुञ्चे र बिचमा खाना समेत खुवाएर उहाँहरूलाई काठमाडाैं पठाउने काम भइरहेको थापाले बताउनुभयो ।
यसले गर्दा बिचल्लीमा परेका सर्वसाधारणलाई सहज भएको छ । प्रदेश सरकारको सिङ्गो संयन्त्र नै प्रभावित क्षेत्रमा बसेर काम गरिरहँदा सङ्घीय सरकारको उद्धार तथा राहतको कार्यक्रम प्रभावकारी नभएको भन्दै पीडित र स्थानीय तहले आक्रोश व्यक्त गरिरहेका छन् ।














प्रतिक्रिया दिनुहोस्