जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार ०९:०७

रुसी ड्रोन आक्रमणमा युक्रेनमा ३७ जनाको मृत्यु, ४२ घाइते


काठमाडौं, भदौ १४ । युक्रेनको राजधानी कीभनजिकै रुसी ड्रोन आक्रमणपछि भएको विस्फोटमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। घटनामा चार बालबालिकासहित ४२ जना घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूका अनुसार कीभको पश्चिमतर्फ बुचा जिल्लाको माइला गाउँमा रहेको एक भण्डारण केन्द्रमा शुक्रबार राति रुसी ड्रोनले आक्रमण गरेको थियो। ड्रोन आक्रमणपछि गोदाममा आगलागी हुनुका साथै त्यहाँ राखिएका विस्फोटक पदार्थ तथा हतियारमा शृंखलाबद्ध विस्फोट भएको थियो।

विस्फोट र आगलागीका कारण आसपासका करिब ५० आवासीय भवनमा क्षति पुगेको छ। नजिकै रहेको वृद्ध तथा अपांगता भएका व्यक्तिहरूको हेरचाह केन्द्रसमेत प्रभावित भएको र मृतकमध्ये ठूलो संख्या त्यहाँ रहेका व्यक्तिहरूको रहेको अधिकारीहरूले बताएका छन्।

घटनापछि करिब ४ सय जनालाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आवासीय क्षेत्रनजिकै विस्फोटक पदार्थ तथा गोलाबारुद भण्डारण गर्नु गम्भीर लापरबाही भएको बताउनुभएको छ। घटनाबारे युक्रेनी अधिकारीहरूले आपराधिक अनुसन्धानसमेत अघि बढाएका छन्।

उता, रुसी रक्षा मन्त्रालयले भने माइला क्षेत्रमा युक्रेनका लामो दूरीका ड्रोनका पार्टपुर्जा तथा प्रक्षेपण बुस्टर राखिएको भण्डारण केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ।