जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार १४:१७

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गर्यो बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ४ करोड १ लाख सहयोग


काठमाडौं, भदौ १४ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख आर्थिक सहयोग गरेको बैंकले प्रेस बिज्ञप्तिमार्फत जानकारी दिएको हो ।

प्राकृतिक विपदका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले सो कोषमा रकम सहयोग गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने यस मानवीय कार्यमा ऐक्यवद्धता पनि जनाएको छ ।

बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बैंकले बिज्ञप्तिमा बाढीको घटनामा परी हालसम्म पनि सम्पर्कमा नआएका व्यक्तिहरुको सकुशल उद्धार एवं घाइतेहरूको शीघ्र स्वास्थ लाभको कामना गरेको छ ।