धादिङ, भदौ १४ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले धादिङको बाढी प्रभावित क्षेत्रमा खटिएका स्थानीय जनप्रतिनिधिलाई हप्कीदप्की गर्दै हिँडेपछि स्थानीयले प्रतिकार गरेका छन ।
सांसद तामाङले आफू केही नगरी भाइरल बन्न जसलाई पनि हप्कीदम्की गरेको र बाढीपीडितहरुको उद्धार तथा राहतमा हातेमालो गर्नुको सट्टा मोबाइल तेस्र्याएर स्थानीय सरकार र जनतालाई धम्की दिँदै हिँडेको गुनासो स्थानीय जनप्रतिनिधिले सुनाएका छन ।
गल्छी गाउँपालिकाका जनप्रतिनिधि र आशिकाबीच चर्काचर्की भएको भिडियो शनिवारदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामेश्वर कार्कीसमेत सहभागी भएको बैठकको भिडियोको वास्तविकताबारे सोधखोज गर्दा घटना शनिवार बिहान साढे ११ बजेतिरको रहेको पाइएको छ ।
वडा नम्बर ६ का वडाध्यक्ष दिपककुमार कार्कीका अनुसार बाढीपीडितका लागि विभिन्न क्षेत्रबाट आएको राहत सामग्री के कसरी वितरण गर्ने भन्ने विषयमा छलफल गर्न पालिका अध्यक्ष केदारनाथ खतिवडाको कार्यकक्षमा बैठक बसिरहेको थियो । त्यही बेला सांसद आशिकाले छिरेर अनायासै हप्कदप्की गर्नुभएको कार्कीले जानकारी दिनुभयो ।
‘राहत वितरण र व्यवस्थापनकै विषयमा छलफल गरिरहेका थियौँ,एक्कासी उहाँ (आशिका) आएर सिधै हप्काउन थाल्नुभयो’, घटनाको बिषयमा जानकारी दिँदै कार्कीले भन्नुभयो, ‘एउटा फ्रुटी र चाउचाउ पनि बाँड्न सक्दैनौ ? यो के नाटक गरेर बसिरा‘को ? भनेर हप्काउँदै बोल्नुभयो, जबकी हामीले पहिलो चरणको राहत वितरण गरिसकेका थियौं ।’
आक्रोशित हाउभाउसहित बैठकमा प्रवेश गरेर हप्काउन थालेपछि सांसद आशिकालाई जनप्रतिनिधिहरुले शान्त भएर कुरा गर्न आग्रह गरेका थिए । तर उहाँ ‘अहिलेसम्म किन राहत नबाँडेको ?’ भन्दै झन् उग्र बनेपछि स्थिति तनावग्रस्त बनेको थियो । ‘बाढी गएदेखि नै हामी रातदिन नभनी २४ सै घण्टा पीडितहरुको उद्धार र राहतमा खटिरहेका छौं’, कार्कीले भन्नुभयो, ‘तर उहाँचाहिँ मोबाइल तेस्र्याएर हामीलाई हप्काउन थाल्नुभयो, अनि हामीलाई पनि पचेन, हामीले प्रतिकार गर्दा माहोल केही गरमागरम बन्यो ।’
नागरिक पीडामा परेको र विपद्को बेला पाहुनाजसरी डुलेर हिँड्दैमा पीडितले राहत नपाउने कार्कीको भनाई छ ।
‘हामी यहाँ सुत्न पाएका छैनौँ, खान पाएका छैनौँ, घुलमिल गरिरहनुपर्ने आफ्नै जनता हुन, अनि उहाँचाहिँ एकछिन आएर यो भएन, त्यो भएन भन्दै हप्काएर हुन्छ ?’, कार्कीले भिडियोमै आशिकासँग सोध्नुभएको छ, ‘यहाँ राहत आएर थन्केको छ, स्वयंसेवकहरु खटाएका छौं, सुरक्षाकर्मीहरुले सहयोग गरिरहेका छन्, हामी दिनरात फिल्डमा छौं, त्यो देख्नुपर्दैन ? जनप्रतिनिधिलाई हप्काउँदै हिँड्नुभन्दा बरु आएर हातेमालो गरे हुन्छ नि !’
सांसद आशिकाले जहाँ गए पनि चर्चामा आउन यस्तो भाइरल हुने काम गर्दै आउनु भएको छ ।














प्रतिक्रिया दिनुहोस्