जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार १६:२२

बिपदको बेला पनि सरकार राज्यको सामर्थ्य कब्जा गरेर बस्यो, अदृश्य बन्यो : केपी ओली


काठमाडौं, भदौ १४ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले बिपदको संकटमा पनि सरकार राज्यको सामर्थ्य कब्जा गरेर बसी अदृष्य बनेको निश्कर्ष सुनाउनु भएको छ ।

बाढी प्रभावितको उद्धार र राहतमा राज्यको कोष प्रयोग गर्नुपर्ने भन्दै अध्यक्ष अ‍ोलीले यस्तो निचोड सुनाउनु भएको हो । एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले यस्तो बेला तीनै तहको सरकार मिलेर काम गर्नुपर्ने र जनतालाई राहत दिनुपर्ने बताउनु भयो ।

‘सरकारको अर्थ नै परेका बेला राज्यको कोष उदारतापूर्वक नागरिकको उद्धारमा, राहतमा र पुनर्निर्माणमा खर्च गरोस्। सरकारका विभिन्न तहहरूको पनि दायित्व हो। राजधानी भएकै प्रदेशमा यो घटना घटेको ,’ ओलीले भन्नुभयो । उहाँले केन्द्र, प्रदेश र स्थानीय सरकार, अन्य सङ्घसंस्था, राजनीतिक दल, सङ्घसंस्था, समाजसेवी, परोपकारी संस्था र व्यक्ति सबै मिलेर यो चुनौतीको सामना गर्नुपर्ने र पीडितमा राहत दिनुपर्ने बताउनु भयो ।

‘यतिबेला कसैको आलोचना गर्ने, टीकाटिप्पणी गर्ने समय होइन। तर सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बस्यो। सरकार एक ढङ्गले भन्ने हो भने अगम्य, अप्राप्य र अदृश्य जस्तो देखियो,’ ओलीको भनाई थियो । उहाँले विपद्को बेलामा राजनीतिक दलहरूले श्रेयको होडबाजी नगर्ने बताउँदै देश र जनतालाई सङ्कट परेको बेलामा सरकारलाई साथ दिन तयार रहेको पनि प्रष्ट पार्नुभयो ।