जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार २०:१६

भोटेकोशी बाढी : रसुवामा स्वास्थ्य संरचना तहसनहस, ११ स्वास्थ्यकर्मी अझै सम्पर्कविहीन


हेटौँडा, भदौ १४ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य संरचनासहित जनधनमा ठूलो क्षति पुर्‍याएको छ। भदौ १० गते बिहान ८ः४० बजे अचानक आएको बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन तथा घाइतेको उपचारका लागि प्रदेश सरकारले आपत्कालीन स्वास्थ्य प्रतिकार्य तीव्र बनाएको छ।

बाढीको सबैभन्दा ठूलो प्रभाव रसुवामा परेको छ। रसुवा अस्पतालमा बाढीपछि ७७ जना बिरामी पुगेका छन्। तीमध्ये २४ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ भने ४९ जना डिस्चार्ज भएका छन्। एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। भदौ १४ गते भने बाढीबाट प्रभावित नयाँ बिरामी अस्पतालमा आएका छैनन्।

बाढीका कारण रसुवाका टिमुरे स्वास्थ्य चौकी, स्याफ्रुबेँसी स्वास्थ्य चौकी, मैलुङ सामुदायिक स्वास्थ्य इकाई र रसुवागढी हेल्थ डेस्क पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती स्वास्थ्य संस्थाबाट सेवा अवरुद्ध भएको छ। गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका स्वास्थ्य शाखा तथा स्टोरसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीका कारण रसुवाका ११ जना स्वास्थ्यकर्मी अझै सम्पर्कविहीन रहेको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ। सम्पर्कविहीन हुनेमा स्याफ्रुबेँसी र टिमुरे स्वास्थ्य चौकी, रसुवागढी हेल्थ डेस्क, दाहालफेदी सामुदायिक स्वास्थ्य इकाई, उत्तरगया गाउँपालिकाको स्वास्थ्य शाखा, मैलुङ सामुदायिक स्वास्थ्य इकाईलगायतमा कार्यरत स्वास्थ्यकर्मी छन्।

नुवाकोटमा स्वास्थ्य सेवा वैकल्पिक स्थानबाट

नुवाकोटमा हालसम्म कुनै स्वास्थ्य संस्थामा प्रत्यक्ष क्षति नपुगे पनि त्रिशूली अस्पतालमा कार्यरत एक स्टाफ नर्स बेपत्ता रहेको प्रतिवेदनमा उल्लेख छ। त्रिशूली अस्पतालमा घाइतेको उपचार भइरहेको छ।

तर त्रिशूली अस्पताल, जनस्वास्थ्य कार्यालय त्रिशूली बजार र बट्टारलगायत क्षेत्रमा पुल बगाएका कारण आवतजावतमा समस्या भएपछि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटमा समेत उपचारको व्यवस्था मिलाइएको छ। विभिन्न होल्डिङ सेन्टरमा मेडिकल टोली परिचालन गरेर स्वास्थ्य सेवा दिइएको छ।

नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा ठूलो संख्यामा विस्थापितलाई राखिएको छ। प्रतिवेदनअनुसार नुवाकोटमा मात्रै विभिन्न स्थानमा गरी २ हजार ४५४ जना रहेका छन्। रसुवामा भने शान्तिबजार, शिवालय, श्री कोमिन श्यामेवाङफेल माध्यमिक विद्यालयलगायतका स्थानमा गरी ६ सय जनालाई राखिएको छ।

धादिङका स्वास्थ्य संस्थामा पनि क्षति

धादिङमा आदमघाट अस्पतालमा उपचारका लागि आएका एक जना बिरामी डिस्चार्ज भइसकेका छन्। जिल्लाको चरौँदी आधारभूत स्वास्थ्य सेवा केन्द्र र बैरेनी अस्पतालमा आंशिक भौतिक क्षति पुगेको छ। दुवै स्वास्थ्य संस्थाको तल्लो तला बाढीका कारण डुबानमा परेको प्रतिवेदनमा उल्लेख छ।

उद्धारपछि स्वास्थ्य टोली परिचालन

बाढी प्रभावित क्षेत्रमा उपचार सेवा प्रभावकारी बनाउन बागमती प्रदेशका विभिन्न अस्पतालबाट आकस्मिक चिकित्सकीय टोली (EMT) परिचालन गरिएको छ। प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको संयोजकत्वमा गठन गरिएका टोलीले रसुवा र नुवाकोटका प्रभावित क्षेत्र तथा अस्पतालमा सेवा दिएका छन्।

राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, हेटौँडा अस्पताल, नेपाल प्रहरी अस्पताललगायतका स्वास्थ्य संस्थाबाट चिकित्सकीय टोली प्रभावित क्षेत्रमा खटिएका छन्। राष्ट्रिय ट्रमा सेन्टरको टोली भदौ १४ गते रसुवा अस्पताल पुगेको थियो भने धुलिखेल अस्पतालको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा समेत सेवा दिएको छ।

नुवाकोटका त्रिशूली वारि–पारि रहेका विभिन्न होल्डिङ सेन्टरमा समेत चिकित्सकीय टोली परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप मेडिकल टोली पठाउने व्यवस्था मिलाइएको छ।

औषधि तथा स्वास्थ्य सामग्री हवाई र सडकमार्गबाट

बाढी प्रभावित क्षेत्रमा आवश्यक औषधि, उपकरण तथा स्वास्थ्य सामग्री हवाई र सडकमार्गबाट ढुवानी तथा वितरण भइरहेको छ। स्थानीय तहमा रहेका स्वास्थ्य संस्था र होल्डिङ सेन्टरमा जनस्वास्थ्य कार्यालयको समन्वयमा सामग्री पठाइएको छ।

बाढी प्रभावित क्षेत्रमा उपचार सेवा प्रभावकारी बनाउन बागमती प्रदेशका विभिन्न अस्पतालबाट आकस्मिक चिकित्सकीय टोली (EMT) परिचालन गरिएको छ। प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको संयोजकत्वमा गठन गरिएका टोलीले रसुवा र नुवाकोटका प्रभावित क्षेत्र तथा अस्पतालमा सेवा दिएका छन्।

औषधिको अभाव हुन नदिन र अनावश्यक वितरण रोक्न एकद्वार वितरण प्रणाली अपनाइएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

प्रदेशका अस्पताल, जनस्वास्थ्य कार्यालय तथा अन्य स्वास्थ्य संस्थालाई र्‍यापिड रेस्पोन्स टिम (RRT) र आकस्मिक चिकित्सकीय टोलीसहित तयारी अवस्थामा राखिएको छ। रसुवा अस्पतालमा थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र धुलिखेल अस्पतालबाट चिकित्सकीय टोली परिचालन गरिएको छ।

प्रभावितलाई निःशुल्क उपचार

बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित तथा घाइते नागरिकलाई प्रदेशअन्तर्गतका सबै प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको छ। प्रभावित तथा घाइतेलाई नजिकको प्रादेशिक अस्पतालमा सम्पर्क गरी निःशुल्क उपचार लिन आग्रह गरिएको छ।

साथै, घाइते तथा प्रभावितलाई सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउन नागरिक, संघसंस्था र स्थानीय तहलाई सहयोग गर्न प्रदेश सरकारले अपिल गरेको छ। थप जानकारी तथा समन्वयका लागि प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको सम्पर्क नम्बर ९८५५०२६८३६ उपलब्ध गराइएको छ।

बाढीपछि राहत तथा उद्धारसँगै मानसिक स्वास्थ्य सेवासमेत सञ्चालन गरिएको छ। मनोचिकित्सक तथा मनोसामाजिक परामर्शदातामार्फत प्रभावितलाई सेवा प्रदान भइरहेको छ। एम्बुलेन्स व्यवस्थापन, शव व्यवस्थापन, आवश्यक औषधि तथा उपकरण आपूर्ति र गैरसरकारी साझेदार संस्थासँगको समन्वयमा राहत तथा स्वास्थ्य सामग्री वितरणलाई निरन्तरता दिइएको छ।

प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार प्रभावित जिल्लामा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय तहका स्वास्थ्य निकायबीच समन्वय भइरहेको छ।