जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार २२:२२

चीनबाट बाढीपीडितका लागि ३३ करोडभन्दा बढी सहयोग, थप राहत सामग्री पनि नेपाल पठाइयो


काठमाडौं, भदौ १४ चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गर्नुभएको नगद सहयोग हस्तान्तरण गरिएको छ।

आइतबार अर्थ मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत २० लाख अमेरिकी डलर अर्थात् झन्डै साढे ३० करोड रुपैयाँ बराबरको सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो।

यसैगरी, चिनियाँ रेडक्रसले उपलब्ध गराउनुभएको २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोगसमेत हस्तान्तरण गरिएको छ।

सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्नुपर्ने बताउनुभएको छ। नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाउनुभएको जानकारी पनि उहाँले दिनुभएको छ।

चीनले नगद सहयोगसँगै राहत सामग्रीसमेत नेपाल पठाउन सुरु गरिसकेको जनाएको छ। राजदूत माओमिङका अनुसार आइतबार मात्रै दुईवटा चिनियाँ जहाजमार्फत ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुट काठमाडौं ल्याइएको छ। थप राहत सामग्रीसमेत निरन्तर पठाइने उहाँले बताउनुभएको छ।

रसुवामा आएको बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरोला नाका हुँदै स्वदेश फर्काउन पहल भइरहेको जानकारीसमेत राजदूत माओमिङले अर्थमन्त्रीलाई दिनुभएको छ।

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकोप्टरसहित दक्ष जनशक्ति नेपाल आइसकेको र थप उद्धार प्राविधिकहरू पनि नेपाल आइपुगेको उहाँले जानकारी दिनुभएको छ। उद्धारका लागि ठूलो परिमाणमा सामग्री बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीन सरकारले तीव्र रूपमा काम गरिरहेको उहाँको भनाइ छ।

चीन सरकारको सहयोग रकम ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपत्तिको समयमा चीनले गर्नुभएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले बाढीका कारण ज्यान गुमाउनुभएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ।

मन्त्री वाग्लेले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दो विपद्को जोखिम सामना गर्न नेपाल र चीनबीच थप सहकार्य आवश्यक रहेको बताउनुभएको छ। साथै, बाढीबाट भएको क्षतिको पुनर्निर्माणमा चीनबाट थप सहयोगको अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभएको छ।

सहायता हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूत माओमिङले बाढीका कारण ज्यान गुमाउनुभएका दुवै देशका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसमेत गर्नुभएको थियो।