जनता टाइम्स

१० पुष २०७६, बिहीबार ०९:४४

सुर्य ग्रहणसँगै काठमाडौंको तापक्रममा उल्लेख्य गिरावट, शुन्य भन्दा तल जान सक्ने


काठमाडौं, पुष १०

बिहीबार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको तापक्रम घटेको छ । सुर्य ग्रहण लाग्ने दिननै तापक्रममा निक्कै कमि आएको हो । उत्तर–पश्चिम हिमालबाट चिसो हावा बहँदा धेरै ठाउँको तापक्रम घटेको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । बुधबार राति आकाश खुलेसँगै काठमाण्डौसहित धेरै ठाउँको तापक्रम घटेको छ ।

बुधबारभन्दा झण्डै २ डिग्री सेल्सियस घटेर काठमाण्डौको बिहीबारको तापक्रम यो वर्षको अहिलेसम्मकै कम अर्थात् शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । यसअघि बिहान ६ बजे काठमाण्डौको तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बुधबार काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । काठमाण्डौको बिहीबारको तापक्रम शून्य डिग्रीसम्म झर्न सक्ने महाशाखाले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शीतलहरको समयमा चिसोको कारण ज्यानै जानसक्ने भएकाले समयमै न्यानो कपडाको जोहो गर्न, शीतलहरको समयमा खुला समयमा धेरै नबस्न, घरबाहिर निस्कनै परे वा धेरै समय बस्नु परे न्यानो कपडा लगाउन, राति सिरक, कम्बल ओढ्न र सुत्दा छाती र टाउको अनिवार्य छोप्न आग्रह गरेको छ ।