काठमाडौं, भदौ १५ । अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुई सैन्य अखडालाई निशाना बनाएर हमला गरेको छ। जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य कारबाही भएको बीबीसीले जनाएको छ।
अमेरिकी एक अधिकारीले आक्रमणको पुष्टि गरेका छन्। अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ राख्ने तथा रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि सैन्य कारबाही गरिएको हो।
अमेरिकी सेनाको आक्रमणपछि आईआरजीसीले ठूलो संख्यामा मानिस मारिएको तथा घाइते भएको दाबी गरेको छ। साथै, उसले अमेरिकी आक्रमणको जवाफमा ‘प्रतिशोधात्मक कारबाही र सजाय’ दिने चेतावनी दिएको छ।
यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमहरूले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामाथि हमला गरेको दाबी गरेका छन्। तर, यस दाबीबारे अमेरिकी सेन्ट्रल कमान्डको प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।
आईआरजीसीको दाबीपछि जोर्डनको सेनाले आफ्नो वायु रक्षा प्रणालीले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्र खसालेको जनाएको छ।
गत जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए। त्यसपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य हमला हो।
पछिल्लो घटनाक्रमसँगै अमेरिका र इरानबीचको तनाव पुनः चर्किने संकेत देखिएको छ भने होर्मुज जलडमरूमध्य आसपासको सुरक्षा अवस्थाप्रति पनि अन्तर्राष्ट्रिय चासो बढेको छ।














प्रतिक्रिया दिनुहोस्