जनता टाइम्स

१५ भाद्र २०८३, सोमबार १३:३८

भोटेकोशी बाढीपीडितलाई नबिल बैंक र चौधरी फाउन्डेसनको १५ करोडको राहतः ५ सय आवास र स्वास्थ्य केन्द्र बनाउने


काठमाडौं, भदौ १६ । नबिल बैंक र चौधरी फाउन्डेसनले भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस दुःखद् विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।

बाढीमा आफ्ना प्रियजन गुमाउनुभएका सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस विपद्बाट प्रभावित सबैको सुरक्षा, साहस तथा शीघ्र स्वास्थ्यलाभको कामना सहित बैंक र फाउन्डेसनले प्रभावित समुदायलाई राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पु¥याउने साझा प्रतिबद्धतासहित बहुचरणमा कार्यान्वयन गरिने बृहत् राहत तथा पुनःस्थापना कार्यक्रम घोषणा गरेका हुन् ।

यस कार्यक्रमको अनुमानित लागत करिब १५ करोड रुपैयाँ रहेको छ । यस पहलमार्फत बाढी प्रभावित परिवारका तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नुका साथै उनीहरूलाई आपत्कालीन राहतबाट सुरक्षित आवास, पुनःस्थापना तथा दीर्घकालीन सामुदायिक उत्थानशीलतातर्फ अघि बढ्न आवश्यक सहयोग उपलब्ध गराइने चौधरी ग्रुपले जनाएको छ।

कार्यक्रमको पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसन र नबिल बैंकले प्रभावित परिवारलाई खाद्यान्न, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएका छन् र यो कार्यलाई निरन्तरता दिनेछन्। राहत प्याकेजमा तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तुहरू समावेश छन्। पहिलो चरणअन्तर्गतका राहत सामग्री भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा पुर्याउन थालिएको हो। यस कार्यका लागि चौधरी फाउन्डेसन र नबिल बैंकका कर्मचारीहरू स्थानीयस्तरमा परिचालित भइसकेको ग्रुपले जनाएको छ ।

साथै, स्थानीय प्रशासनसँगको सहकार्यमा नुवाकोट र रसुवामा एक–एक गरी दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरिनेछ। राहत शिविरमा प्रभावित समुदायलाई दैनिक भोजन उपलब्ध गराइनेछ। साथै, चौधरी फाउन्डेसन र नबिल बैंकले धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नेछन्। शिविरमा बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी तथा सरसफाइसम्बन्धी आवश्यक सुविधासमेत उपलब्ध गराइनेछ।

बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५ सय वटा अस्थायी आवास एकाइ निर्माण गर्न सरकार तथा स्थानीय सरकारसँग सहकार्य गरिनेछ। स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित, व्यवस्थित तथा सम्मानजनक आवासको व्यवस्था गरिनेछ। यी संक्रमणकालीन आवास एकाइ नेपालमा भूकम्पपीडितका लागि राहत तथा पुनस्र्थापनाका क्रममा चौधरी फाउन्डेसनले प्रयोग गरेको प्रमाणित प्रविधिमा आधारित हुनेछन्।

पुनर्निर्माण प्रयासको एक महत्त्वपूर्ण हिस्साका रूपमा प्रभावित समुदायका लागि स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गरिनेछ। यसका साथै, दीर्घकालीन प्रतिबद्धताअन्तर्गत संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्न धुलिखेल अस्पतालसँग सहकार्य गरिनेछ। उक्त केन्द्रले रोगको निगरानी तथा पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा बाढी र अन्य विपद्पछि उत्पन्न हुन सक्ने संक्रामक रोग तथा प्रकोपको प्रभावकारी व्यवस्थापनका लागि संस्थागत क्षमता अभिवृद्धिमा योगदान पुर्याउनेछ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले आफूहरूको तत्कालीन प्राथमिकता जीवनको रक्षा गर्नु र प्रभावित परिवारलाई खाना, आवास, स्वास्थ्य सेवा तथा सम्मान सुनिश्चित गर्नु रहेको बताउनु भयो । ‘ तर, हाम्रो जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित हुनु हुँदैन। चौधरी फाउन्डेसन र नबिल बैंकबीचको यस साझेदारीमार्फत उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनस्र्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्मको सम्पूर्ण यात्रामा हामी प्रतिबद्ध छौँ,’ चौधरीले भन्नुभयो ।

चौधरी फाउन्डेसन र नबिल बैंकका अधिकारीहरूले नेपाल सरकार, स्थानीय प्रशासन तथा सम्बन्धित निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकहरूसँग निकट समन्वयमा काम गर्नेछन् । सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म राहत तथा सहायता पारदर्शी, प्रभावकारी र व्यवस्थित रूपमा पुर्याउने उद्देश्य राखिएको छ ।

राष्ट्रिय संकटका समयमा नेपाली जनताको साथमा उभिने तथा प्रभावित समुदायलाई अझ सुरक्षित, स्वस्थ र विपद्–प्रतिरोधी भविष्य निर्माण गर्न सहयोग गर्ने चौधरी फाउन्डेसन र नबिल बैंकको साझा प्रतिबद्धताको निरन्तरतास्वरूप यो पहल अघि बढाइएको चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रभावित समुदायको उद्धार तथा तत्काल राहतका लागि नेपाल सरकारले देखाएको शीघ्र र सक्रिय पहलप्रति चौधरी फाउन्डेसन र नबिल बैंक नेपाल सरकारप्रति आभार व्यक्त पनि गरेका छन् । यस कठिन परिस्थितिमा सरकारले देखाएको दृढ प्रतिबद्धता, तत्परता तथा प्रभावकारी समन्वय प्रशंसनीय रहेको भन्दै बैंक र फाउन्डेसनले प्रभावित नागरिकको जीवनरक्षा, राहत तथा पुनस्र्थापनाका लागि नेपाल सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्दै यस पहललाई प्रभावकारी रूपमा अघि बढाइने बताएका छन् ।