जनता टाइम्स

१५ भाद्र २०८३, सोमबार २१:०१

भोटेकोशी बाढीपछि राहत पुर्‍याउन प्रदेश सरकाले थाप्याे त्रिशूलीमा तुइन : ५–६ फिट लेदो जम्दा आवतजावत नै कठिन


हेटौँडा, भदौ १५। भोटेकोशीमा आएको भीषण बाढीका कारण सडक तथा पैदलमार्ग अवरुद्ध भएपछि प्रभावित नागरिकसम्म राहत र स्वास्थ्य सामग्री पुर्‍याउन बागमती प्रदेश सरकारले त्रिशूली नदीमा तुइन निर्माण तथा सञ्चालनको काम अघि बढाएको छ।

बाढीपछि आसपासका क्षेत्रमा ठूलो मात्रामा हिलो र लेदो जमेर कतिपय स्थानमा करिब ५–६ फिटसम्म पुगेको र त्यसले प्रभावित क्षेत्रमा आवतजावत नै कष्टकर बनेपछि प्रदेश सरकारले वैकल्पिक माध्यमका रूपमा विदुर र त्रिशूली जोड्ने गरी त्रिशूली नदीमा तुइन निर्माण सुरु गरेको हो।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीले सिर्जना गरेको विषम परिस्थितिमा राहत, स्वास्थ्य सामग्री तथा अत्यावश्यक सेवा प्रभावित नागरिकसम्म तत्काल पुर्‍याउन तुइन सञ्चालन गर्न लागिएको बताउनुभएको छ।

उहाँका अनुसार बाढीपछि जमेको हिलो र लेदोका कारण प्रभावित नागरिकको सामान्य आवतजावतसमेत कठिन बनेको छ। साे क्षेत्रमा राहत तथा स्वास्थ्य सामग्री पुर्‍याउन र आपत्कालीन उद्धार गर्नसमेत ठूलो चुनौती देखिएको उहाँले उल्लेख गर्नुभएको छ।

मुख्यमन्त्री थापामगरले भन्नुभएको छ, “भोटेकोशीमा आएको भीषण बाढीका कारण आसपासका क्षेत्रमा ठूलो मात्रामा हिलो र लेदो जमेर करिब ५–६ फिटसम्म जमेको अवस्था सिर्जना भएको छ। जसका कारण प्रभावित नागरिकहरूको आवतजावत अत्यन्तै कष्टकर बनेको छ भने राहत तथा स्वास्थ्य सामग्री पुर्‍याउन र आपतकालीन उद्धारमा समेत ठूलो चुनौती देखिएको छ।”

यस्तो अवस्थामा प्रभावित नागरिकसम्म राहत तथा स्वास्थ्य सामग्री तत्काल पुर्‍याउन र आवतजावत केही सहज बनाउन प्रदेश सरकारले तुइन निर्माण तथा सञ्चालनलाई तीव्रता दिएको उहाँले बताउनुभएको छ। “यस्तो विषम परिस्थितिमा प्रभावित नागरिकसम्म राहत, स्वास्थ्य सामग्री तथा आवश्यक सेवा तत्काल पुर्‍याउन र आवतजावतलाई केही सहज बनाउन बागमती प्रदेश सरकारले विदुर र त्रिशूली जोड्ने त्रिशूली नदीमा तुइन निर्माण तथा सञ्चालनको काम तीव्र रूपमा अघि बढाइरहेको छ,” उहाँले भन्नुभएको छ।

मुख्यमन्त्रीका अनुसार निर्माणाधीन तुइन सम्भवतः मंगलबारसम्म सञ्चालनमा आउनेछ। तुइन सञ्चालनमा आएपछि त्यसबाट राहत तथा स्वास्थ्य सामग्री ओसारपसार गर्नुका साथै आपत्कालीन अवस्थामा रहेका नागरिकको उद्धार गर्नसमेत सहज हुनेछ।

उहाँले भन्नुभएको छ, “सम्भवतः भोलिसम्म सञ्चालनमा आउने यस तुइनमार्फत राहत तथा स्वास्थ्य सामग्री ओसारपसार गर्नुका साथै गर्भवती महिला, घाइते तथा अन्य आपतकालीन अवस्थाका नागरिकहरूको उद्धारमा महत्वपूर्ण सहयोग पुग्नेछ।”

प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित अन्य क्षेत्रमा पनि उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्राथमिकतामा राखेको जनाएको छ। सडक सञ्जाल अवरुद्ध भएका कारण राहत तथा उद्धार प्रभावित हुन नदिन स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी वैकल्पिक उपायबाट सेवा प्रवाहलाई निरन्तरता दिने प्रयास भइरहेको प्रदेश सरकारको भनाइ छ।