काठमाडौँ, भदौ १६ । भोटेकोशी करिडोरमा आएको भीषण बाढी–पहिरोका कारण चीनसँग जोडिएका नेपालका दुई प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी बन्द भएका छन्।
गत बुधबारको बाढीले रसुवागढी नाकासँगै सडक तथा राजमार्गमा ठूलो क्षति पुर्याएपछि चीनसँगको प्रमुख स्थल व्यापारिक सम्पर्क विच्छेद भएको हो।
रसुवागढी नाका बन्द भएपछि व्यवसायीले वैकल्पिक रूपमा तातोपानी नाका प्रयोग गर्ने तयारी गरिरहेका बेला चिनियाँ पक्षले इमेलमार्फत तातोपानी नाका पनि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी दिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार चिनियाँ पक्षबाट नाका बन्द गरिएको जानकारी इमेलमार्फत प्राप्त भएको हो। तर नाका बन्द गर्नुको कारण र पुनः सञ्चालन हुने मिति भने खुलाइएको छैन।
दुवै नाका बन्द भएपछि चीनबाट नेपाल आयात हुने सामान प्रभावित भएका छन्। चाडपर्वका लागि अर्डर गरिएका लत्ताकपडा, विद्युतीय सामग्री तथा सवारीसाधन सीमापारि नै रोकिएका छन्।
रसुवागढी नाकाबाट नेपाल भित्रिन लागेका बीवाईडीका करिब १ हजार विद्युतीय सवारीसाधन तथा स्पेयर पार्ट्स बोकेका कन्टेनर बाढीमा बगेका छन्।
अब चीनसँगको व्यापारका लागि व्यवसायीले कोरला नाका प्रयोग गर्नुपर्ने अवस्था आएको छ। तर कोरला नाकामा पर्याप्त भन्सार पूर्वाधार र सडक पहुँचको अभावका कारण तत्काल व्यापार सहज हुने अवस्था देखिँदैन।
भोटेकोशी बाढीबाट भएको भौतिक क्षति तथा पुनर्निर्माणका लागि करिब पौने ८ खर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।














प्रतिक्रिया दिनुहोस्