काठमाडौं, भदौ १६ । एनएमबि बैंकले बाढी प्रभावितका उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख रुपैयाँ सहयोग हस्तान्त्रण गरेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडका अध्यक्ष मनोजकुमार गोयलले ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा जम्मा हुने गरी ३ करोड ५१ लाख रुपैयाँ रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरणको क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोबिन्द घिमिरेलगायत बैंकका उच्च अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो । एनएमबि बैंकले उक्त प्रभावित क्षेत्रका नगरिकहरुका लागि दश लाख रुपैयाँ बराबरको राहत सामाग्रीसमेत प्रदान गरेको छ ।
अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षतिपुगेको छ । बाढीले जनधनको क्षति हुनुका साथै धेरै घर परिवार विस्थापितभएका छन् भने सडक, स्थानीय पूर्वाधार र जलविद्युत् आयोजनाहरूमा समेत ठूलो असर परेको छ।
यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको साथमा उभिँदै बैंकले उक्त सहयोग प्रदान गरेको हो । यसबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनस्र्थापना जस्ता कार्यहरुमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।














प्रतिक्रिया दिनुहोस्