नवराज पथिक
काठमाडौं, भदौ १७ । बाढीपहिरोले जीवन नै तहसनहस बनाएको त्यो भयावह क्षण। चारैतिर माटो, भग्नावशेष र त्रास। नुवाकाेटकाे देवीघाटस्थित वृद्धाश्रममा रहेकी ८० वर्षीया पुतली तामाङ पनि भदौ १० गते भाेटेकाेशीमा आएको बाढीपहिरोमा परेर भग्नावशेष र माटोमुनि पुरिइन्।
तर, नियतिले उनको जीवनको कथा त्यहीँ अन्त्य हुन दिएन।
उद्धारका लागि सुरक्षाकर्मीले डोजरबाट माटो पन्छाइरहेका थिए। त्यही क्रममा माटो र भग्नावशेषबीचबाट पुतली जीवित भेटिइन्। उद्धारको क्रममा उनी डोजरकै बकेटमा सुरक्षित रूपमा बस्न पुगेकी थिइन्। त्यही बकेट उनको लागि त्यसबेला उद्धारको माध्यम मात्र बनेन, जीवनमा फर्किने आशाको एउटा बलियो आधार पनि बन्यो।
विपद्मा परेकी वृद्ध आमाको शारीरिकभन्दा गहिरो पीडा मानसिक थियो। घटनापछि उनी ठूलो मानसिक आघातमा परेकी थिइन्। केही समयसम्म त उनी बोल्नसमेत सक्ने अवस्थामा थिइनन्।

यही कठिन अवस्थामा भक्तपुर अस्पतालबाट खटिएको स्वास्थ्यकर्मीको टोली उनको उपचारमा जुट्यो। मुटुरोग विशेषज्ञ डा. विजय साहासहितको टोलीले उनको स्वास्थ्य अवस्था जाँच गर्दै आवश्यक उपचार र हेरचाह गर्यो। करिब तीन–चार घण्टासम्म बोल्न नसक्ने अवस्थामा रहेकी पुतलीको उपचारपछि अवस्था सामान्य बन्दै गयो।
विपद्को पीडामा मलम लगाउने यो प्रयास केवल चिकित्सा सेवा थिएन, मानवताको एउटा जीवन्त उदाहरण थियो।
भक्तपुर अस्पतालको टोलीका अनुसार पुतलीले भोगेको पीडा पूर्ण रूपमा तत्काल हटाउन सम्भव नहोला। मानसिक आघात पनि एकैछिनमा मेटिँदैन। तर, उनका शारीरिक घाउमा मलम लगाउनु र पीडा केही भए पनि कम गर्नु स्वास्थ्यकर्मीको मानवीय दायित्व थियो।
“उहाँले भोग्नुभएको पीडा पूर्ण रूपमा कम गर्न हामी सक्षम नहुन सक्छौँ। उहाँको मानसिक पीडा पनि तत्काल पूर्ण रूपमा हटाउन सम्भव थिएन। तर, उहाँका शारीरिक घाउहरूमा मलम लगाउन र पीडा कम गर्न हामीले सक्दो प्रयास गरेका छौँ,” स्वास्थ्यकर्मीको टोलीको भनाइ छ।
विपद् आउँदा जीवन जोगाउने हातहरू नै सबैभन्दा ठूलो आशा बन्छन्। डोजरको बकेटबाट उद्धार भएकी पुतली आज त्यसै आशाको प्रतीक बनेकी छन्-जीवन कठिन हुन सक्छ, तर मानवता जीवित रहँदा आशा कहिल्यै मर्दैन।
उनीहरूको भनाइमा विपद्को कठिन घडीमा एक वृद्ध आमाको पीडाबीच थोरै भए पनि राहत दिन सक्नु मानवीय दायित्वसँगै आत्मसन्तुष्टिको विषय हो।
भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीहरू भदौ १० गते करिब ४ बजे त्रिशूलीस्थित आयुर्वेदिक अस्पताल पुगेदेखि नै निरन्तर फिल्डमा खटिएका छन्। बाढीपहिरोबाट प्रभावित नागरिकको स्वास्थ्य उपचारदेखि आवश्यक सहयोगसम्म अस्पतालको टोलीले आफ्नो क्षमताले भ्याएसम्म निरन्तर सेवा दिइरहेको छ।
प्रकृतिको प्रहारले मानिसलाई कमजोर बनाउने भए पनि मानवीय सहयोगले फेरि उठ्ने साहस दिन्छ। पुतली तामाङको उद्धार र उपचार त्यसैको एउटा संवेदनशील उदाहरण बनेको छ।
विपद्को घडीमा कोही एक्लो छैन भन्ने विश्वास दिलाउँदै वाग्मती प्रदेश सरकार र भक्तपुर अस्पतालले आगामी दिनमा पनि आवश्यक स्वास्थ्य सेवा र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

बाढीपहिरोको घटना लगत्तै भक्तपुर अस्पतालमाथि विश्वास गर्दै महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा अस्पतालले वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमप्रति आभार व्यक्त गरेको छ।
विपद् आउँदा जीवन जोगाउने हातहरू नै सबैभन्दा ठूलो आशा बन्छन्। डोजरको बकेटबाट उद्धार भएकी पुतली आज त्यसै आशाको प्रतीक बनेकी छन्-जीवन कठिन हुन सक्छ, तर मानवता जीवित रहँदा आशा कहिल्यै मर्दैन।
प्रकृतिले भाेटेकाेशी तटमा नराम्राेसँग प्रहार गरेकाे छ । तर हामी सँगै लड्नेछौँ। सँगै उभिनेछौँ र सँगै उठ्नेछौँ।














प्रतिक्रिया दिनुहोस्