काठमाडौं, भदौ १७ । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
आज धादिङको गजुरी गाउँपालिका–१ नं. वडा कार्यालयको सभाहलमा आयोजित विपद् प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणसम्बन्धी सरोकारवालासँगको परामर्श तथा समन्वय बैठकमा मुख्यमन्त्री थापा मगरले प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी काम अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो।
बैठकमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सो क्रममा विपद्बाट प्रभावित क्षेत्रको अवस्था, भएको क्षतिको विवरण, तत्काल आवश्यक राहत तथा आगामी पुनर्स्थापना र पुनर्निर्माणका प्राथमिकताबारे छलफल गरिएको थियो।

विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय, सहकार्य र आवश्यकताका आधारमा योजना बनाएर काम अघि बढाउने विषयमा बैठकमा विशेष जोड दिइएको थियो।
मुख्यमन्त्री थापा मगरले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउँदै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका कामलाई समेत प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको छ।














प्रतिक्रिया दिनुहोस्