जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार ०७:४५

ट्रम्पको प्रस्ताव– ‘होर्मुज स्ट्रेट’को नाम फेरेर ‘ट्रम्प स्ट्रेट’ राखौँ


काठमाडौं, भदौ १८ इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट (जलघाँटी)को नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्न सुझाव दिनुभएको छ ।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ अकाउन्टमार्फत होर्मुज स्ट्रेटको नाम परिवर्तन गर्ने प्रस्ताव अघि सार्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘अब यो अमेरिकाको नियन्त्रणमा रहेकाले होर्मुज स्ट्रेटको नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्ने हो कि ? अमेरिकाजस्तै यो पनि पहिलेभन्दा बढी ‘हट’ हुनेछ ।’

ट्रम्पको यस्तो अभिव्यक्ति इरानसँगको तनाव चर्किरहेका बेला आएको हो ।

यसैबीच, बुधबार साउदी अरबको एक शिपिङ कम्पनीले होर्मुज स्ट्रेटमा साउदी तेल ट्यांकरमाथि भएको आक्रमणमा फिलिपिन्सका दुई नाविकको मृत्यु भएको जानकारी दिएको छ ।

ग्रीक समुद्री जोखिम व्यवस्थापन कम्पनी मारिसाक्सका अनुसार मंगलबार बिहान होर्मुज स्ट्रेटमा अज्ञात विमानले दुई तेल ट्यांकरलाई निशाना बनाएको थियो ।

इरानमाथि समर्थन नगर्न अमेरिकी आग्रह

बीबीसी फारसीका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले फक्स न्युजसँगको कुराकानीमा इरानबाट टाढा रहन सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँले इरानी शासनलाई कुनै पनि प्रकारको समर्थन नदिनु नै संघर्ष अन्त्य गर्ने सबैभन्दा छिटो उपाय भएको बताउनुभएको छ ।

उता, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकाले ‘नयाँ रणनीति’को सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ ।

उहाँले युद्धभूमि, कूटनीति तथा आर्थिक नाकाबन्दीका क्षेत्रमा इरानले अपनाउने नयाँ रणनीतिले अमेरिकाको आधार नै ध्वस्त पार्ने दाबी गर्नुभएको छ ।

होर्मुज आसपास आक्रमण तीव्र

मंगलबार राति अमेरिकी सेनाले इरानको पश्चिम, दक्षिणपश्चिम र दक्षिणी प्रान्त तथा तटीय क्षेत्रका साथै होर्मुज स्ट्रेटको पूर्वी क्षेत्रमा आक्रमण गरेको बताइएको छ ।

इरानी अधिकारीहरूका अनुसार होर्मुजको कोहस्ताक सहरमा भएको एक आक्रमणमा विवाह समारोहमा सहभागी चार जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले उक्त आक्रमणलाई ‘युद्ध अपराध’को संज्ञा दिनुभएको छ ।