जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार १४:१४

बाढी प्रभावित क्षेत्रमा के गर्दै छ बागमती प्रदेश सरकार ?


काठमाडौं, भदौ १८ । भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा बागमती प्रदेश सरकारले उद्धार, राहत, पुनर्स्थापना तथा यातायात व्यवस्थापनका कामलाई तीव्रता दिएको छ ।

बाढीपछि प्रदेश सरकारले तीनै तहका सरकार तथा सम्बन्धित निकायबीच समन्वय गरी प्रभावित नागरिकको उद्धार, अस्थायी आश्रय, खाद्यान्न तथा स्वास्थ्य सेवाको व्यवस्थापनदेखि सडक तथा पुल पुनःनिर्माणसम्मका काम अघि बढाएको जनाएको छ ।

बाढी आएको दिन भदौ १० गते बेलुका प्रदेशका मुख्यमन्त्री किरण थापा मगर सहित सरकारको टोलीले नुवाकोटको विदुर पुगेर प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । सो क्रममा संघीय सरकार तथा स्थानीय तहका अधिकारीहरूसँग छलफल गरी तत्काल गर्नुपर्ने उद्धार तथा राहतका कामबारे समन्वय गरिएको थियो ।

भदौ ११ गते बिहान ७ः१५ बजे तीन तहका सरकार तथा सम्बन्धित अधिकारीबीच समन्वय बैठक बसेको थियो । बैठकपछि उद्धार गरिएका नागरिकलाई चार स्थानमा आश्रयको व्यवस्था गरिएको थियो भने खाना तथा स्वास्थ्य सेवाका लागि चारवटा हेल्थ क्याम्प सञ्चालनमा ल्याइएको प्रदेश सरकारले जनाएको छ ।

त्यसै दिन विदुरमा सम्पर्क तथा समन्वय केन्द्र स्थापना गरी उद्धार तथा राहतलाई प्रभावकारी बनाउन पाँचवटा विषयगत कार्यदल गठन गरिएको थियो । प्रदेश सरकारको हेटौँडास्थित गोदामबाट २८० थान त्रिपाल, ५० वटा टेन्ट तथा १७० सेट गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा उपलब्ध गराइएको थियो ।

मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश सरकारको टोली धुन्चेतर्फ प्रस्थान गरी प्रभावित क्षेत्रको अवस्था बुझ्नुका साथै स्थानीय सरोकारवालासँग समन्वय गरेको थियो । बाढीका कारण आवागमनमा समस्या परेपछि विदुर–काठमाडौं साेही दिन करिब १०० नागरिकको आवागमन व्यवस्थासमेत गरिएको प्रदेश सरकारले जनाएको छ ।

भदौ १२ गते रसुवा र नुवाकोटमा सर्वपक्षीय बैठक आयोजना गरी राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आवश्यक कार्ययोजनाबारे छलफल गरिएको थियो । बाढीका कारण अस्पताल, यातायात तथा टेलिकम सेवा सञ्चालनमा समेत समस्या भएपछि ती सेवा निरन्तर सञ्चालनका लागि ४०० लिटर डिजेल र २०० लिटर पेट्रोल उपलब्ध गराइएको छ ।

उद्धार, राहत र पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले थप १० जना अधिकृत कर्मचारीसमेत प्रभावित क्षेत्रमा परिचालन गरेको छ । साथै, स्थानीय तहसँग बाढीबाट भएको क्षति र तत्काल आवश्यक पर्ने राहत सामग्री तथा अन्य सहयोगको विवरण माग गरिएको छ ।

बाढीबाट ४० भन्दा बढी पुल क्षतिग्रस्त भएपछि प्रदेश सरकारले बेलिब्रिज, झोलुङ्गेपुल तथा तुइन निर्माणको सम्भाव्यता अध्ययन गरी प्राथमिकता निर्धारण गर्ने काम अघि बढाएको छ । अत्यावश्यक स्थानमा यस्ता संरचना निर्माणलाई शीघ्र अगाडि बढाउने तयारी गरिएको प्रदेश सरकारले जनाएको छ ।

बाढीका कारण सडक तथा यातायात अवरुद्ध भएपछि नागरिकको आवागमन सहज बनाउन धुन्चे–महभीर, चौगटे–काठमाडौं तथा विदुर–काठमाडौं निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । धुन्चेसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने कामलाई समेत तीव्रता दिइएको छ ।

त्यसैगरी, बाढीका कारण बाटोमै अलपत्र परेका तथा प्रभावित यात्रुका लागि खानपानको व्यवस्था गरिएको छ । अवरुद्ध सडकको सफाइ गरी यातायात सञ्चालनमा ल्याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले आफ्ना कर्मचारीलाई निरन्तर उद्धार, राहत तथा पुनर्स्थापनाको काममा खटिन निर्देशन दिएको छ । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार सरकारी संयन्त्रलाई थप परिचालन गर्दै क्षतिको विवरण संकलन तथा पुनर्स्थापनाका कामलाई अघि बढाउने तयारी प्रदेश सरकारको छ ।

विपद् व्यवस्थापनका काममा प्राविधिक तथा विज्ञ सुझाव लिन बागमती प्रदेश सरकारले विपद् व्यवस्थापनमा विद्यावारिधि गरेका डा. दीपक विक्रम थापा क्षेत्रीलाई विपद् सल्लाहकार (Disaster Advisor) का रूपमा परिचालन गरेको जनाएको छ ।

प्रदेश सरकारले बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त सडक, पुल, यातायात तथा अत्यावश्यक सेवाको पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण संकलनपछि दीर्घकालीन पुनर्निर्माण तथा पुनर्स्थापनाको योजना अघि बढाइने प्रदेश सरकारको तयारी रहेकाे मुख्यमन्त्री किराण थापा मगरले जानकारी दिनुभएकाे छ ।