काठमाडौं, भदौ १८। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त सहयोगको विवरण सार्वजनिक गर्नुभएको छ।
प्रधानमन्त्री शाहका अनुसार भारतले पाँच चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराएको छ। चीनले ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री उपलब्ध गराएको छ भने नेपालले थप ३० वटा बेलीब्रिज सहयोग गर्न चीनसँग अनुरोध गरेको छ।
पाकिस्तानबाट ८६ टन राहत सामग्री आउने क्रममा रहेको छ। श्रीलंकाले १० लाख अमेरिकी डलर, अमेरिकाले ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाले १० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यूएईले ८३ टन राहत सामग्री उपलब्ध गराइसकेको छ भने थप १ करोड अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कतारले ४० टन राहत सामग्री उपलब्ध गराएको छ।
यस्तै, बेलायतले ५० लाख पाउण्ड, युरोपेली संघले २० लाख युरो, स्विट्जरल्याण्डले १० लाख अमेरिकी डलर र जर्मनीले २० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार विश्व बैंकले १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा तथा एसियाली विकास बैंकले बजेटरी र प्राविधिक सहायताका लागि थप रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
उहाँले नेपालको आवश्यकता र प्राथमिकताअनुसार मित्रराष्ट्रबाट प्राप्त सहयोग परिचालन गरिरहेको बताउनुभएको छ।














प्रतिक्रिया दिनुहोस्