काठमाडौं, भदौ १८ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो गएर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा बढाइएको छ।
नेपाल आयल निगमले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ मूल्य तोकेकोमा उद्योगीहरूले ढुवानी लागत बढेको भन्दै थप रकम उपभोक्ताबाट लिन थालेका हुन्। अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पुगेको छ।
ग्यास उद्योगीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौंका उद्योगले तराईका उद्योगमा ग्यास रिफिल गराएर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउनुपरेको छ। यसबाट ढुवानी लागत बढेकाले मूल्य समायोजन गरिएको हो।
उद्योगीहरूले आयल निगमसँगको सहमति र प्रचलित व्यवस्थाअनुसार प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा थप गरिएको दाबी गरेका छन्। उनीहरूका अनुसार वास्तविक अतिरिक्त ढुवानी खर्च भने प्रतिसिलिन्डर २ सय रुपैयाँभन्दा बढी पर्छ।
नेपाल आयल निगमले भने ५० किलोमिटरसम्मको दूरीका लागि मात्रै ग्यासको मूल्य निर्धारण गर्ने र सोभन्दा बढी दूरीमा लाग्ने अतिरिक्त ढुवानी खर्च उद्योगीले उपभोक्ताबाट लिन पाउने व्यवस्था रहेको जनाएको छ।
विपद्का कारण जनजीवन प्रभावित भइरहेका बेला अत्यावश्यक वस्तु मानिने ग्यासको मूल्य बढाइएपछि यसको भार प्रत्यक्ष रूपमा उपभोक्तामाथि परेको छ।














प्रतिक्रिया दिनुहोस्