रामेछाप, भदौ २० । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ।
शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर बोहरा, महिला उपाध्यक्षमा सम्झना खड्गी, सचिवमा मिलन विक, सहसचिवमा टंकनाथ गौतम र कोषाध्यक्षमा राजन महतारा निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा श्रीराजचन्द्र महत, ईश्वर विक, अनिता रसाइली, कर्ण श्रेष्ठ र सुशिला बुढाथोकी निर्वाचित हुनुभएको छ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थोकरले गर्नुभएको थियो। युनियनकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सहभागी वक्ताहरूले पछिल्लो समय लोकतन्त्र र प्रेस स्वतन्त्रता गम्भीर चुनौतीमा परेको भन्दै यसको संरक्षणका लागि साझा संकल्प आवश्यक रहेको बताउनुभयो।
वक्ताहरूले संघीय सरकार प्रेस तथा सञ्चार क्षेत्रप्रति कठोर बन्दै गएको बताउँदै त्यसले लोकतान्त्रिक व्यवस्था र प्रेस स्वतन्त्रताको मूल्यमान्यतामाथि नै प्रश्न उठाएको धारणा व्यक्त गर्नुभयो।
उहाँहरूले स्वतन्त्र र निर्भीक पत्रकारिताबिना लोकतन्त्र बलियो हुन नसक्ने भन्दै प्रेस स्वतन्त्रताको रक्षा तथा पत्रकारको पेसागत सुरक्षाका लागि पत्रकार सम्बद्ध संघसंस्था थप एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। यसमा राजनीतिक दल र जनप्रतिनिधिकाे भूमिका पनि त्यतिकै महत्वपूर्ण हुने उहाँकाे भनाइ थियाे ।














प्रतिक्रिया दिनुहोस्