रामेछाप, भदौ २२ । संघीयताको मर्म सरकारलाई नागरिकको घरदैलोसम्म पुर्याउनु हो। तर रोजगारी, अध्ययन र अन्य कामका कारण गाउँ छाडेर राजधानीमा बस्नुपर्ने नागरिकका लागि सरकारको ‘घरदैलो’ पनि टाढा बन्न सक्छ। यही दूरी घटाउने प्रयासस्वरूप रामेछापका स्थानीय तहले नागरिक बसेकै ठाउँमा पुगेर सेवा दिन थालेका छन्।
गाउँमा मात्र होइन, गाउँबाहिर रहेका आफ्ना नागरिकलाई समेत खोज्दै स्थानीय सरकार काठमाडौं उपत्यकासम्म पुग्न थालेका हुन्। यसले संघीयता भनेको प्रशासनिक संरचना परिवर्तन मात्र नभई नागरिकले आवश्यक सेवा सहज रूपमा पाउने व्यवस्था पनि हो भन्ने सन्देश दिएको छ।
यसै क्रममा लिखु तामाकोशी गाउँपालिका–२ सैपुले काठमाडौं उपत्यकामा अस्थायी बसोबास गरिरहेका वडावासीलाई लक्षित गरी काठमाडौंमै बृहत् घुम्ती सेवा शिविर सञ्चालन गरेको छ।कामको सिलसिलामा काठमाडौंमा रहेका तथा आफन्तसँग बस्दै आएका कारण गाउँ फर्कन कठिन हुने नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट सामाजिक सुरक्षा भत्ताको नामावली नवीकरण, नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, विभिन्न सिफारिसलगायत वडाबाट उपलब्ध हुने सेवा प्रदान गरिएको छ।गाउँसम्म पुगेर सेवा लिनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरमा सेवाग्राहीको उत्साहजनक सहभागिता देखिएको छ।
लिखु तामाकोशी गाउँपालिका–२ का वडाध्यक्ष सन्तोष पौडेलका अनुसार शनिबारदेखि तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा २ सय ५० भन्दा बढी नागरिकले सेवा लिएका छन्।काठमाडौंस्थित गणेश होटलमा आयोजित शिविरमा विशेषगरी गाउँ फर्कन कठिनाइ हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न सरकारी कामका लागि सिफारिस आवश्यक पर्ने नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।वडाको सेवा लिनकै लागि लामो दूरी पार गरेर गाउँ पुग्नुपर्ने बाध्यता हटेपछि सेवाग्राहीले स्थानीय सरकारको पहलको प्रशंसा गरेका छन्।
काठमाडौंमै वडाका जनप्रतिनिधि र कर्मचारी पुगेर आवश्यक सेवा दिँदा समय, खर्च र यात्राको झन्झटबाट राहत मिलेको उनीहरूको भनाइ छ।स्थानीय सरकार नागरिकका लागि कहाँ छ भन्ने प्रश्नको व्यवहारिक उत्तरसमेत यस्ता शिविरले दिन थालेका छन्। नागरिक जहाँ छन्, सरकार त्यहीँ पुग्नुपर्छ भन्ने अवधारणालाई रामेछापका स्थानीय तहले अभ्यासमा उतारिरहेका छन्।
रामेछापका अधिकांश स्थानीय तहका वडाले आर्थिक वर्षको सुरुवातसँगै काठमाडौं उपत्यकामा अस्थायी रूपमा बसोबास गर्ने आफ्ना नागरिकलाई लक्षित गरी हरेक वर्ष यस्ता सेवा शिविर सञ्चालन गर्दै आएका छन्।
गाउँको विकास र स्थानीय सरकारको प्रभावकारिता गाउँमा देखिने संरचनाले मात्र होइन, गाउँ छाडेर टाढा पुगेका नागरिकले पनि आफ्नो सरकार आफू नजिकै रहेको अनुभूति गर्न सकेको अवस्थामा मापन हुन्छ। काठमाडौंमा पुगेर सेवा दिने रामेछापका स्थानीय तहको अभ्यासले संघीयतालाई कागजबाट नागरिकको जीवनमा उतार्ने यस्तै साना तर अर्थपूर्ण प्रयासको उदाहरण प्रस्तुत गरेको छ।














प्रतिक्रिया दिनुहोस्