जनता टाइम्स

२२ भाद्र २०८३, सोमबार २१:००

लोपोन्मुख हायु समुदायको आवाज बनेकी पत्रकार ललिता हायुलाई फोनिज पुरस्कार, हिमाल ढुङ्गेल पनि पुरस्कृत 


रामेछाप, भदौ २२ । लोपोन्मुख हायु समुदायको भाषा, पहिचान र आवाजलाई सञ्चारमाध्यममार्फत उजागर गर्दै आउनुभएकी पत्रकार ललिता हायु सम्मानित हुनुभएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३ उहाँलाई प्रदान गरिएको हो। गोरखापत्र दैनिककी भाषा सम्पादकसमेत रहनुभएकी हायुलाई आदिवासी जनजाति समुदायको उत्थान र विकासका क्षेत्रमा पत्रकारितामार्फत पुर्‍याउनुभएको योगदानको कदर गर्दै सोमबार पुरस्कार प्रदान गरिएको हो।

मातृभाषामा पत्रकारिताको अभ्यासलाई निरन्तरता दिँदै लोपोन्मुख समुदायका विषय र आवाजलाई मूलधारका सञ्चारमाध्यमसम्म पुर्‍याउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै फोनिज रामेछापले उहाँलाई सम्मान गरेको हो।

हायु समुदायको भाषा र पहिचान संरक्षणसँगै समुदायका सामाजिक तथा विकासका सवाललाई सार्वजनिक बहसमा ल्याउन पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्न सक्ने सन्देशसमेत उहाँको सम्मानले दिएको छ।

यसैगरी फोनिज रामेछापले खोजमूलक पत्रकारिता पुरस्कार पत्रकार हिमाल ढुङ्गेललाई प्रदान गरेको छ। लामो समयदेखि नेपाल टेलिभिजनको जिल्ला संवाददाताका रूपमा क्रियाशील ढुङ्गेललाई खोजमूलक पत्रकारितामा पुर्‍याउनुभएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो।

फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले सम्मानित पत्रकारद्वयलाई नगद पुरस्कारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले भाषा, कला, संस्कार र संस्कृतिको संरक्षणमा पत्रकारिता र पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। यस्ता पुरस्कारले मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षणमा थप योगदान गर्न पत्रकारलाई प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो।

उहाँले पत्रकारलाई सत्य–तथ्यलाई जस्ताको तस्तै समाजसामु प्रस्तुत गर्न आग्रह गर्नुभयो। पत्रकारिताले समाजका वास्तविक समस्या र सम्भावनालाई उजागर गर्दै समृद्ध समाज निर्माणमा योगदान पुर्‍याउनुपर्ने उहाँले बताउनुभयो।

सम्मान तथा पुरस्कारले पत्रकारको व्यक्तिगत योगदानको कदर मात्र नगरी मातृभाषा, सीमान्तकृत तथा लोपोन्मुख समुदायका आवाजलाई मूलधारमा स्थापित गर्ने पत्रकारिताको महत्वलाई समेत उजागर गरेको छ।