काठमाडौं, भदौ २२ । अखिल नेपाल महिला संघ (अनेमसंघ) बागमती प्रदेश कमिटीले धादिङको गजुरी गाउँपालिका–५, गलौदी बजारमा बाढीपहिरोबाट प्रभावित निजी घरहरूको सरसफाइमा श्रमदान गरेको छ ।
अनेमसंघ बागमती प्रदेश कमिटीको आयोजनामा भएको श्रमदानमा गलौदी बजारका सात वटा निजी घरमा जमेको बालुवा, माटोलगायतका सामग्री पन्छाएर सरसफाइ गरिएको हो ।
श्रमदानका क्रममा पाँच वर्षको बालकसहित एक जना महिला मात्र रहेको परिवारको घरमा समेत अनेमसंघको टोलीले बालुवा र माटो पन्छाउने काम गरेको थियो । आफ्नो घर सरसफाइमा सहयोग पाएपछि प्रभावित परिवारका सदस्य भावुक हुँदै खुसी व्यक्त गरेका थिए । अनेमसंघले विपद्को समयमा आफू जहाँ भए पनि सक्दो सहयोग गर्नुपर्ने सन्देशसहित श्रमदानमा सहभागी भएको जनाएको छ ।
श्रमदानको नेतृत्व अनेमसंघ केन्द्रीय सचिव एवं बागमती इन्चार्ज शारदा कुमालले गर्नुभएको थियो । अनेमसंघ बागमती प्रदेश अध्यक्ष सुमित्रा काफ्लेले कार्यक्रमको संयोजन गर्नुभएको थियो भने धादिङ जिल्ला संयोजक अम्बिका रुपाखेतीले व्यवस्थापन गर्नुभएको थियो ।
श्रमदानमा नेकपा (एमाले) केन्द्रीय सदस्य एवं अनेमसंघ केन्द्रीय सदस्य डोल्मा तामाङ, प्रतिनिधिसभा सदस्य गंगादेवी श्रेष्ठ, केन्द्रीय सदस्य उमा सिम्खडा, प्रदेश सचिव पार्वती भट्टराई, सहसचिव राधिका खड्का, धादिङ क्षेत्रीय इन्चार्ज हिरादेवी रेग्मीलगायतको सहभागिता थियो ।
त्यस्तै, अनेमसंघ तथा नेकपा (एमाले) का विभिन्न तहका नेता–कार्यकर्तासहित सिन्धुपाल्चोक, थाहा नगरपालिका, मकवानपुर, सिन्धुली, रामेछाप, नुवाकोट र धादिङबाट आएका महिलाहरूको सरसफाइ कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला तथा स्थानीय तहका गरी ७३ जना महिलाको सहभागिता रहेको अनेमसंघले जनाएको छ ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत र सहयोग उपलब्ध गराउने अभियानमा सहकार्य गर्ने सबैलाई अनेमसंघले धन्यवाद दिएको छ । विशेषगरी बाढीपीडितको राहत तथा उद्धारमा सहयोग गर्नुहुने नेकपा (एमाले) बागमती प्रदेश उपसचिव रमेश आचार्यसहित सम्पूर्ण नेता–कार्यकर्ताप्रति अनेमसंघले आभार व्यक्त गरेको छ ।














प्रतिक्रिया दिनुहोस्