जनता टाइम्स

२३ भाद्र २०८३, मंगलवार ०९:१५

इजरायलका स्याहार केन्द्रमा १ हजार ४६४ नेपाली कामदारका लागि आवेदन खुला


काठमाडौं, भदौ २३ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि १ हजार ४६४ नेपाली कामदारको आवेदन खुलेको छ।

वैदेशिक रोजगार विभागका अनुसार गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि १ हजार १३२ जना महिला र ३३२ जना पुरुष कामदार माग गरिएको हो।

आवेदन दिन इच्छुक नेपाली नागरिकले २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने विभागले जनाएको छ।

आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गतको अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।

छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली सरकारको नियमअनुसार ओभरटाइम सुविधा पनि उपलब्ध हुने विभागले जनाएको छ।

कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने सातामा एक दिन बिदा पाउनेछन्। वार्षिक बिदा भने इजरायली कानुनअनुसार हुने बताइएको छ।

कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था सम्बन्धित कम्पनीले गर्नेछ। तर, आवासको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्ने विभागले जनाएको छ।