जनता टाइम्स

२३ भाद्र २०८३, मंगलवार ११:३४

घर फोरेर वृद्धभत्ताकाे रकम चोरी गर्ने बाबु-छाेरा पक्राउ


रामेछाप, भदाै २३ । रामेछापमा घर फोरेर वृद्धभत्ताको रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्लाको सुनापति गाउँपालिका–२ दिमीपोखरीमा ७५ वर्षीय इमानसिंह तामाङको घर फोडी वृद्धभत्ताबापत राखिएको ७६ हजार रुपैयाँ चोरी गरेर फरार भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनापति गाउँपालिका–२ नयाँ पानी ट्याङ्की टोलका ३४ वर्षीय आकाश लामा र उनका १९ वर्षीय छोरा सन्दीप तामाङ रहेका छन्।

घटनाबारे विभिन्न विधि तथा प्रविधिको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उनीहरूलाई चोरी भएको रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई चोरी मुद्दामा अनुसन्धानका लागि रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।