काठमाडौं, भदौ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेञ्जी आन्दोलनले उठाएका विधिको शासन, भ्रष्टाचारमुक्त समाज, नागरिक अधिकार र समतामूलक समृद्धिको मुद्दाबाट आफूहरू विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जेञ्जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार वक्तव्य जारी गर्दै लामिछानेले वर्षौंदेखिको भ्रष्टाचार, दलीय भागबण्डा, संस्थागत अक्षमता, नागरिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको बताउनुभएकाे छ । उहाँले उक्त आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त रूपमा भएको दाबी गर्दै कुनै पनि दल वा नेताले आन्दोलनलाई आफ्नो संकुचित राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने धारणा राख्नुभयो।
लामिछानेले आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते, अङ्गभङ्ग भएका तथा मानसिक र शारीरिक चोट भोगेकाहरूको राज्यले उचित हेरचाह, पूर्ण उपचार र दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो। कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
जेञ्जी आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको युवा पुस्ताको स्पष्ट अस्वीकृति भएकाे उहाँकाे दाबी छ। डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना र स्वाभिमान बोकेको युवा पुस्ताले आफ्नै देशमा भविष्य खोजिरहेको भन्दै उहाँले अब युवालाई कुशासन स्वीकार्य नहुने बताउनुभयो। “हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ,” लामिछानेले भन्नुभएको छ, “हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ।”
उहाँले युवा, नागरिक समाज र आम नागरिकलाई सरकार तथा राजनीतिक नेतृत्वको निरन्तर रचनात्मक खबरदारी र निर्मम समीक्षा गर्न आग्रह गर्नुभएको छ। तर नागरिकमा निराशाको भाष्य स्थापित हुन नदिन र नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
लामिछानेले जेञ्जी आन्दोलनले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू “एक इन्च पनि विचलित नहुने” दृढ सङ्कल्प व्यक्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्