जनता टाइम्स

२३ भाद्र २०८३, मंगलवार १५:३०

पोखरा उद्योग वाणिज्य संघको इतिहासमा पहिलो महिला अध्यक्ष बनिन् शोभा गौतम


पोखरा, भदाै २३ । पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनुभएको छ।

संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभापछि नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सोमबार साँझ सार्वजनिक गर्दै निर्वाचन समितिले शोभा गौतमलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो। अध्यक्ष पदमा निर्वाचित गौतमले ७५१ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३६, उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत प्राप्त गर्नुभएको छ।

गौतमसँगै वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानांग, उपमहासचिवमा प्रदीप राजभण्डारी र कोषाध्यक्षमा देवेन्द्र प्रजु निर्वाचित हुनुभएको छ।

कार्यसमिति सदस्यमा दुर्गा बराल, अमृत पोखरेल, निर्मला चापागाईं, गोविन्दबहादुर केसी, रामेश्वर अधिकारी, मनोहरी पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलप्रसाद सुनार निर्वाचित हुनुभएको छ। वस्तुगततर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरू, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद पनेरू तथा उद्योग सदस्यमा पिताम्बर अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ।

यसअघि विन्दु कोइराला र हिरा भट्टराईले पनि संघको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो। उहाँहरू निर्वाचित हुन नसकेपछि गौतम संघको इतिहासमा अध्यक्ष बन्ने पहिलो महिला बन्नुभएको हो। कास्कीकोटमा जन्मिनुभएकी ४६ वर्षीया गौतमले २०५३ सालमा पोखराको गैह्रापाटनमा चिया पसल सञ्चालन गर्दै व्यावसायिक यात्रा सुरु गर्नुभएको थियो। पोखरा उद्योग वाणिज्य संघको कार्यालय भवनअगाडि चिया बेच्न सुरु गर्नुभएकी उहाँले दुई वर्षपछि रेस्टुरेन्टसमेत सञ्चालन गर्नुभएको थियो।

माओवादी द्वन्द्वका क्रममा हिरासतमा रहेका माओवादीलाई खाना तथा चिया–नास्ता पुर्‍याउने कामसमेत गर्नुभएका गौतमलाई त्यसबेला प्रहरीले पटकपटक माओवादीप्रति सहानुभूति राख्ने व्यक्तिका रूपमा केरकार गर्ने गरेको उहाँको स्मरण छ।

चिया पसल सञ्चालनका क्रममा विभेदपूर्ण टिप्पणी र विभिन्न आक्षेपसमेत सामना गर्नुपरेपछि उहाँले व्यवसाय परिवर्तन गर्दै ब्युटी पार्लर सञ्चालन गर्नुभएको थियो। सीटीईभीटीबाट तीनमहिने आधारभूत तालिम लिएपछि साथीहरूसँग मिलेर बिक्रीमा रहेको ब्युटी पार्लर खरिद गर्नुभएकी उहाँले महेन्द्रपुलमा ‘पुष्पाञ्जली हर्बल ब्युटी पार्लर’ सञ्चालन गर्नुभएको थियो। हाल उहाँले ‘पुष्पाञ्जली फेसन एन्ड इभेन्ट’ तथा ‘सफल एडभर्टाइजिङ’ सञ्चालन गरिरहनुभएको छ।

गौतमलाई २०७३ सालमा पोखरा उद्योग वाणिज्य संघले एउटा उपसमितिको सदस्यमा मनोनीत गरेको थियो। त्यहीँबाट उहाँको संघसँगको औपचारिक यात्रा सुरु भएको हो । त्यसपछि उहाँ संघको कार्यसमिति सदस्य, उपमहासचिव हुँदै अघिल्लो कार्यकालमा महासचिव निर्वाचित हुनुभएको थियो। यसपटक अध्यक्षमा निर्वाचित भएसँगै उहाँले संघको ७२ वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने कीर्तिमान कायम गर्नुभएको छ।