जनकपुर, भदौ २३ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेताहरूकै राजशी शैलीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको स्वीकार गर्नुभएको छ ।
एमाले मधेश प्रदेशले महोत्तरीको लालगढमा आयोजना गरेको मिसन जागरण अभियान अभिमुखीकरण कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो तथ्य औंल्याउनु भएको हो । यस्तै उहाँले पार्टीका नेतादेखि कार्यकर्तासम्म जनताको समस्या समाधानमा भन्दा सिडिओ र प्रहरीका हाकिमको सरुवातिर केन्द्रित हुँदा पनि जनतासँगको सम्बन्ध टुटेको निचोड सुनाउनु भयो ।
कार्यक्रममा ज्ञवालीले जनतामा जाने कुरा प्राथमिकतामा नपर्दा पार्टी कमजोर बनेको तथ्यलाई स्वीकार गर्नुको बिकल्प नरहेको बताउनुभयो । यस्तै पार्टी नेताहरूको सरकारी र राजसीपनका कारण पनि एमाले कमजोर भएको उहाँका भनाई छ । ‘एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो । राजसी भयो । हाम्रो ध्यान सिडिओ सरुवा, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो । यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्यायो । यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ,’ ज्ञवालीले भन्नुभयो ।
उहाँले गत फागुन २१ को निर्वाचनमा एमालेको कमजोर नतिजा आउनुमा पार्टीको आन्तरिक एकतामा भएको गडबडी पनि मुख्य कारक भएको बताउनु भयो । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, समूह, उपसमूहको निर्माण र निर्वाचनमा एकताबद्ध भएर जान नसक्दा यो अवस्था आएको ज्ञवालीले बताउनु भयो ।

‘गत वर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो तर यसवर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ । यो अवस्था आउनुमा पार्टी जनताका मुद्दाबाट टाढिएको परिणाम हो,’ ज्ञवालीले भन्नुभयो, ‘हाम्रो यही कमजोरीले गर्दा संविधान मिचिदा होस वा पार्टी नेतामाथि सरकारले ज्यादती गर्दा पनि जनता सडकमा आएनन् ।’
ज्ञवालीले २०७९ को निर्वाचनपछि एमालेलाई सत्ताभोगी पार्टीको रूपमा जनताले बुझेको तथ्यलाई स्वीकार गरेर कार्यशैलीमा सुधार अनिवार्य रहेको बताउनु भयो । २०७९ देखि २०८२ सम्म आउँदा चार पटक एमालेले सत्ता समीकरण बदलेको र सो घटनाले जनतामा यस्तो मानसिकता बनेको उहाँको भनाई थियो ।
‘२०७९ देखि ०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण बदल्यो । पहिला प्रचण्डलाई प्रधानमन्त्री बनायो । केही महिनामा नै त्यो सरकार छोड्यो । फेरी प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारमा सहभागी भयो,’ ज्ञवालीले भन्नुभयो, ‘सरकारमा भित्रिने वा बाहिरिएको कारण हामीले जनतालाई भनेनौं । आखिर प्रचण्ड सुध्रिएर हामी सत्तामा गएका थियौं कि हामी सुध्रिएर ? यसको जवाफ अझै पनि जनताले खोजेका छन ।’
यस्तै ज्ञवालीले प्रचण्ड सरकारबाट हठात् हटेर काँग्रेससँगको सहकार्यले त जनतामा ज्यादै नकारात्मक सन्देश गएको अनुभूति पनि सुनाउनु भयो । एमालेले जनताका समस्याको पहिचान,उठान र समाधान दिनुपर्ने ज्ञवालीको भनाइ छ ।














प्रतिक्रिया दिनुहोस्