जनता टाइम्स

११ पुष २०७६, शुक्रबार १०:४९

बलात्कारको आरोपी सिद्धबाबाविरुद्ध अदालतमा मुद्दा दर्ता, यस्तो सजाय माग


विराटनगर, पुष ११

जबरजस्ती करणी गरेको अभियोगमा सिद्धबाबाका नामले चिनिने कृष्णबहादुर गिरीविरुद्ध दश वर्षसम्म कैद सजायको माग गर्दै मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले प्रहरी कार्यालयले दिएको अनुसन्धान रिपोर्टअनुसार गिरीले महिलामाथि करणी गरेको दाबी गर्दै सातदेखि दश वर्षसम्म कैद सजायको माग गर्दै जरबजस्ती करणी मुद्दा दायर गरेको हो । सिद्धबाबामाथी आफ्नै अनुयायी महिलालाई जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

सिद्धबाबालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बिहीबार २५ दिन पुगेसँगै सरकारी वकिलले मुद्दा अदालतमा दर्ता गरेको छ । यस्ता मुद्दामा २५ दिनभन्दा बढि हिरासतमा राख्न नपाइने भएपछि वकिलको कार्यालय मुद्दा दर्ता गरेको हो । मुद्दा दर्तासँगै अब थुनछेक बहस शुरु हुनेछ । सिद्धबाबालाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ‘ङ’ अनुसार सजाय माग दाबी गरिएको सरकारी वकिलको कार्यालय स्रोतले जानकारी दियो।

संहितामा अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिलामाथि करणी भए सात वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। त्यस्तै अभियोगपत्रमा पीडित महिलालाई उचित क्षतिपूर्ति दिनसमेत माग गरिएको छ । मुद्दा दायरसँगै शुक्रबार कार्यालय खुलेसँगै गिरीको बकपत्र हुने जिल्ला अदालतले जनाएको छ । सिद्धबाबा पक्राउ परेपछि बिरामीको बहानामा निरन्तर विराटनगरस्थित एक अस्पतालमा बसिरहेका छन् ।