काठमाडौं, भदौ २३ । मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ।
मंगलबार भएको खेलमा हङकङले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २ सय ४६ रनमै अलआउट भयो।
पराजित भए पनि नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। नेपाल र हङकङको समान ६ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल समूह विजेता बनेको हो।
नेपालले अब सेमिफाइनलमा समूह ‘बी’को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा हङकङले समूह ‘बी’को विजेता यूएईसँग खेल्नेछ।
नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रन बनाए। उनले १ सय ६ बलमा ६ चौका र २ छक्का प्रहार गरे। आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुलसन झाले २० रन बनाए।
हङकङका बलर एजाज खानले ४ तथा यासिम मुर्तजाले २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो। उसका लागि बाबर हायातले अविजित १ सय १७ रनको उत्कृष्ट शतकीय पारी खेले। साहिद वासिफले ४५ र एहसान खानले अविजित ३५ रन जोडे।
नेपालका सन्दीप लामिछानेले ४ तथा शेर मल्लले ३ विकेट लिए।
नेपालले समूह चरणमा यसअघि बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो।
प्रतियोगिताको उपाधि जित्ने टोली आगामी एसिया कपका लागि छनोट हुनेछ। आगामी एसिया कप सन् २०२७ जुन १८ देखि जुलाई ४ सम्म बंगलादेशमा आयोजना हुने तालिका छ।














प्रतिक्रिया दिनुहोस्