जनता टाइम्स

२५ भाद्र २०८३, बिहीबार १३:४६

सानातिना आयोजनाभन्दा गेम चेन्जिङ परियोजनामा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री थापा


काठमाडौं, भदौ २५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेशको विकासलाई दिगो र प्रभावकारी बनाउन सानातिना टुक्रे विकास आयोजनामा केन्द्रित हुने प्रवृत्तिबाट माथि उठ्नुपर्ने बताउनुभएको छ।

मुख्यमन्त्री थापाले प्रदेशको दीर्घकालीन महत्व बोकेका ‘गेम चेन्जिङ’ परियोजनालाई प्राथमिकतामा राखेर नीति तथा योजना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो। उहाँले सीमित स्रोत–साधनलाई साना–साना आयोजनामा छर्नेभन्दा प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने ठूला परियोजनामा लगानी केन्द्रित गर्नुपर्ने बताउनुभयो।

उहाँका अनुसार विकासको प्राथमिकता केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नभई नागरिकको जनजीविकाको सुरक्षा, रोजगारी सिर्जना र आर्थिक अवसर विस्तारसँग जोडिनुपर्छ। प्रदेशभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न नवप्रवर्तनमा आधारित कार्यक्रम तथा उत्पादनमुखी योजना अघि बढाउनुपर्ने उहाँको भनाइ छ। “अब हामी साना–टुक्रे विकास आयोजनामा केन्द्रित हुनुभन्दा पनि प्रदेशको दीर्घकालीन महत्वका गेम चेन्जिङ प्रोजेक्टमा ध्यान दिँदै नीति निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ,” मुख्यमन्त्री थापाले भन्नुभयो।

मुख्यमन्त्री थापाले रोजगारी र आर्थिक अवसरको अभावमा गाउँबाट भइरहेको जनशक्ति पलायन रोक्न प्रदेश सरकारले विशेष रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले खाली हुँदै गएका गाउँबस्तीलाई पुनः उत्पादन, रोजगारी र आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सकिने गरी कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो।

बढ्दो वैदेशिक युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै उहाँले युवालाई स्वदेशमै भविष्य निर्माण गर्न सक्ने वातावरण तयार गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। युवाको सीप, क्षमता र सिर्जनशीलतालाई स्वदेशमै उपयोग गर्ने गरी नवप्रवर्तन, उद्यमशीलता तथा रोजगारी सिर्जनाका कार्यक्रम अघि बढाउनुपर्ने उहाँको भनाइ छ।

प्रदेशको समग्र विकासलाई जनजीविकासँग जोडेर अघि बढाउन सके मात्रै गाउँबाट भइरहेको पलायन र वैदेशिक रोजगारीमा जाने युवाको बढ्दो क्रमलाई न्यूनीकरण गर्न सकिने मुख्यमन्त्री थापाले बताउनुभयो।

उहाँले बागमती प्रदेशलाई दीर्घकालीन रूपमा आत्मनिर्भर, उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने प्रदेशका रूपमा विकास गर्ने गरी आगामी नीति तथा कार्यक्रम तय गर्नुपर्नेमा जोड दिनुभयो।