रामेछाप, भदौ २६ । रामेछापको एकमात्र हिमाली तथा दुर्गम गाउँपालिकाका रूपमा रहेको उमाकुण्ड गाउँपालिकाले नागरिकलाई गाउँघरमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले यस वर्ष पनि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ।
गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार आगामी असोज १५ गतेदेखि २१ गतेसम्म गाउँपालिकाका विभिन्न वडामा घुम्ती सेवा शिविर सञ्चालन गर्न लागिएको हो। दुर्गम भौगोलिक अवस्था र नागरिकले सामान्य सरकारी सेवा लिनसमेत लामो दूरी तय गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले हरेक वर्ष गाउँघरमै पुगेर सेवा दिने गरी घुम्ती शिविर सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयाे ।
यस वर्ष पनि सोही अभ्यासलाई निरन्तरता दिँदै विभिन्न वडाका नागरिकलाई स्थानीयस्तरमै आवश्यक सरकारी सेवा उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार शिविरको सुरुवात असोज १५ गते उमाकुण्ड गाउँपालिका–१ गुम्देलबाट हुनेछ। त्यसैगरी असोज १६ गते वडा नं. २ बाम्तिभण्डार, १७ गते वडा नं. ३ कुभुकास्थली, १८ गते वडा नं. ५ प्रिती, १९ गते वडा नं. ४ प्रिती, २० गते वडा नं. ६ गुम्देल (गुप्तेश्वर) र अन्तिम दिन असोज २१ गते वडा नं. ७ भुजीमा शिविर सञ्चालन गरिनेछ।
तोकिएका सबै स्थानमा शिविर बिहान १० बजेदेखि सञ्चालन हुने जनाइएको छ।
एकीकृत घुम्ती शिविरबाट नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र विवरण संकलन, व्यवसाय दर्ता तथा नवीकरण, व्यवसाय इजाजतपत्र, योजना सम्झौता र अपाङ्गता परिचयपत्रलगायतका महत्वपूर्ण सेवा लिन सक्नेछन्।
सेवा लिन आउने नागरिकले आवश्यक सक्कल कागजातसहित सम्बन्धित शिविरमा उपस्थित हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत एकराज कुलुङद्वारा जारी सूचनामा उल्लेख छ।
दुर्गम क्षेत्रका नागरिकलाई सामान्य प्रशासनिक कामका लागि समेत सदरमुकाम वा गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा घुम्ती शिविरले उहाँहरूलाई प्रत्यक्ष राहत पुग्ने गाउँपालिकाको विश्वास छ।
गाउँपालिकाले सबै वडाका सम्बन्धित नागरिकलाई आफूलाई पायक पर्ने स्थानमा सञ्चालन हुने शिविरमा आवश्यक कागजातसहित उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।














प्रतिक्रिया दिनुहोस्