रामेछाप, भदौ २६ । रामेछापको भौगोलिक रूपमा विकट तथा हिमालसँग जाेडिएकाे स्थानीय तह उमाकुण्ड गाउँपालिकाले गत आर्थिक वर्षभरि सञ्चालन गरेका गतिविधि, हासिल गरेका उपलब्धि, देखिएका चुनौती तथा आगामी कार्यदिशाको समीक्षा गरेको छ।
गाउँपालिकाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पालिकाको समग्र प्रशासनिक तथा विकास गतिविधिको मूल्यांकन गर्दै आगामी दिनमा नागरिकलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय सेवा कसरी उपलब्ध गराउने भन्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले उमाकुण्डको विकास र समृद्धिका लागि राजनीतिक तथा वैचारिक मतभेदभन्दा माथि उठेर सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ।
उहाँले विगतमा नीतिगत, वैचारिक वा राजनीतिक विषयमा फरक मत तथा असमझदारी रहेका भए पनि अब त्यसलाई निरन्तरता दिनेभन्दा विकासका साझा मुद्दामा केन्द्रित भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयाे। विगतका तिक्तता र असमझदारीलाई बिर्सेर पालिकावासीको हितलाई केन्द्रमा राख्दै जनप्रतिनिधि, कर्मचारी तथा राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।
अध्यक्ष सुनुवारले जनप्रतिनिधि र कर्मचारी संयन्त्रलाई राजनीतिक पूर्वाग्रहबाट मुक्त रही निष्पक्ष र जिम्मेवार ढंगले नागरिकको सेवामा समर्पित हुन निर्देशन दिनुभयाे । उहाँले विकास निर्माणका योजनालाई निर्धारित समयमै सम्पन्न गर्ने, उपलब्ध स्रोत–साधनको अधिकतम सदुपयोग गर्ने तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउनेतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयाे ।
वार्षिक समीक्षा कार्यक्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा सामाजिक विकासलगायतका क्षेत्रमा पालिकाले गरेका काम र प्राप्त उपलब्धिको मूल्यांकन गरिएको थियो। भौगोलिक विकटताका बाबजुद विभिन्न वडामा सडक सञ्जाल विस्तार तथा स्तरोन्नतिको काम अघि बढाइएको र नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न प्राथमिकता दिइएको जानकारी कार्यक्रममा प्रस्तुत गरिएको थियो।
त्यसैगरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, सेवा प्रवाहमा प्रभावकारिता तथा स्थानीय तहमा सुशासन कायम गर्ने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमबारे पनि समीक्षा गरिएको थियो।
कार्यक्रममा सहभागी वडा अध्यक्षहरूले पालिकाको विकासका लागि अध्यक्ष सुनुवारले गर्नुभएको एकताको आह्वानलाई सकारात्मक रूपमा लिँदै विकास बजेटको प्रभावकारी उपयोग, आवश्यकतामा आधारित योजना छनोट तथा जनमुखी कार्यक्रम कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
यसैगरी गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवारले उमाकुण्डको दिगो र तीव्र विकासका लागि आन्तरिक एकता तथा प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयाे। उहाँले राजनीतिक तथा प्रशासनिक रूपमा एकताबद्ध भएर अघि बढ्न सके मात्रै नागरिकले अपेक्षा गरेको विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयाे।
उपाध्यक्ष सुनुवारले सामूहिक प्रयास, आपसी समन्वय र जिम्मेवारीबोधबिना स्थानीय तहको विकासले अपेक्षित गति लिन नसक्ने बताउनुभयाे। उहाँले पालिकाको विकासमा सबै पक्षले साझा जिम्मेवारीका रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयाे ।
आफ्नो कार्यकाल अब करिब ८ देखि ९ महिना मात्र बाँकी रहेको स्मरण गराउँदै उपाध्यक्ष सुनुवारले जनतासमक्ष गरिएका प्रतिबद्धता पूरा गर्न कार्यकालको अन्तिम समयसम्म पनि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
उहाँले जनप्रतिनिधिका रूपमा नागरिकको अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्नु आफ्नो प्रमुख दायित्व रहेको उल्लेख गर्दै बाँकी अवधिलाई अधिकतम सदुपयोग गर्ने बताउनुभयाे। अधुरा रहेका विकास निर्माणका कामलाई पूर्णता दिँदै जनताले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेर मात्रै आफूहरू जिम्मेवारीबाट बाहिरिन चाहेको उहाँको भनाइ छ।
वार्षिक समीक्षा कार्यक्रमले विगतका कामको मूल्यांकनसँगै आगामी दिनमा पालिकाको विकासलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने आधार तयार गरेको गाउँपालिकाले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्