जनता टाइम्स

२६ भाद्र २०८३, शुक्रबार २१:०२

रास्वपाकै कार्यकर्ताबाट बलात्कार र ज्यान मार्ने धम्की आउँछ : यशोदा बराल


काठमाडौं, भदौ २६ । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले रसुवा बाढीपीडितको छिटो उद्धार गर्न माग गरेकै कारण आफू साइबर बुलिङमा परेको बताउनुभयो । महिलामाथि गालीगलौज र धम्की दिने कार्यमा संलग्नलाई तत्काल कारबाही गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बाढीपीडित महिला, सुत्केरी तथा अन्य पीडितले भोगिरहेको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो । सडकपेटीमै महिला सुत्केरी हुनुपर्ने र ग्यास नपाएका कारण खोलामा हाम फाल्नुपर्ने अवस्था आएको भन्दै उहाँले सरकारको नीतिमाथि प्रश्न उठाउनुभयो ।

सामाजिक सञ्जालमा ‘घण्टी’को तस्बिर राखेर गालीगलौज गर्ने गतिविधि भइरहेको उल्लेख गर्दै सांसद बरालले यस्ता गतिविधि नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।