जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार २१:१०

विपद्को पीडामा पीडित परिवारसँगै छ बागमती प्रदेश सरकार : मुख्यमन्त्री किरण थापा


काठमाडौं, भदौ २७ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का कारण विस्थापित रसुवाका नागरिकलाई राज्यले एक्लो महसुस हुन नदिने बताउनुभएको छ ।

मुख्यमन्त्री थापा मगरले काठमाडौंस्थित घोसर (Yellow) गुम्बामा आश्रय लिएर बसिरहेका रसुवाका बाढीपहिरो प्रभावित १७५ घरधुरीका ५२० जना नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उहाँहरूका पीडा, समस्या, गुनासा र तत्कालका आवश्यकताबारे जानकारी लिनुभएको हो ।

विपद्का कारण घरबार, सम्पत्ति तथा जीवनयापनका आधार गुमाउनुपरेका नागरिकको पीडा केवल सुन्ने विषय नभई राज्यको जिम्मेवारी र साझा दायित्व भएको मुख्यमन्त्री थापा मगरले बताउनुभयाे । 

उहाँले विपद्बाट प्रभावित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउनुका साथै सुरक्षित बसोबास, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक सेवाको सुनिश्चितताका लागि प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मुख्यमन्त्री थापा मगरले तत्कालीन राहतसँगै प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेर बागमती प्रदेश सरकारले निरन्तर काम गर्ने बताउनुभयाे । ‘विपद्को घडीमा नागरिकलाई एक्लो महसुस हुन नदिने, पीडामा साथ दिने र आवश्यक सहयोग तथा समन्वयलाई प्रभावकारी बनाउने’ प्रदेश सरकारको स्पष्ट प्राथमिकता रहेको उहाँले प्रष्ट पार्नुभयाे।

रसुवामा आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिक विभिन्न स्थानमा आश्रय लिएर बसिरहेका छन् । विस्थापित परिवारको तत्कालीन आवश्यकता सम्बोधनसँगै उनीहरूको सुरक्षित र सम्मानजनक पुनःस्थापनाका लागि सरकारका तीनै तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको मुख्यमन्त्री थापा मगरले बताउनुभयाे ।

उहाँले विपद्बाट प्रभावित नागरिकको दुःखमा प्रदेश सरकार निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै ‘दुःखमा साथ, विपद्मा सहयोग’ भन्ने भावनाका साथ पीडित नागरिकको पक्षमा सरकार क्रियाशील रहने बताउनुभएको छ ।

मुख्यमन्त्री थापा मगरले विपद्बाट विस्थापित परिवारको समस्या समाधानलाई राहत वितरणमा मात्र सीमित नगरी सुरक्षित बसोबास, पुनःस्थापना र पुनर्निर्माणसम्म जोडेर अघि बढाइने स्पष्ट पार्नुभयाे । 

‘पीडित नागरिकको साथमा बागमती प्रदेश सरकार’ भन्ने प्रतिबद्धतासहित प्रदेश सरकारले प्रभावित परिवारको आवश्यकता र अवस्थाका आधारमा आवश्यक सहयोग तथा समन्वयलाई थप प्रभावकारी बनाउने उहाँले बताउनुभयाे।